भाग १- मेरी हजुराँ उर्फ- कुन्तिका भन्ने कुन्ति देवि
अधिकारी
मेरी हजुरआमाको नाम कुन्तिका हो। अच्म्म के भने पुरा नाम भने “कुन्तिका भन्ने कुन्ति देवि अधिकारी” छ। प्रशासनिक गल्तिले यसो भएको होला। मलाई यस्तै लाग्छ। हाल नागरिकताको आधारमा १०२ वर्ष हुनुभो। बिहे गरेर लमजुङ आउँदा अहिलेको सुन्दरबजार पहिले यस्लाई तार्कु भन्थे। यहि तार्कुको गाउँवेसी गरेर मेरी हजुराँको ९२ बषन्त विते। यहि चण्डिथानको पहाडमा हजुआमा आए पछि जन्मेका धेरै छोरा नाति अस्ताईसके। परम्धाम पुगिसके। तर हजुरआमा भने सन्चै र टाठै हुनुहुन्छ।
उहाँ तनहुँको चुँदिमा पौडेल परिवारमा जन्मिनु भएको हो। अहिले सबै माईति खलक-दरसन्तान चितवन तिर बसोवास गर्छन। सम्झदै भन्नहुन्छ १० वर्ष हुँदा विहे भएको हो। ५ वटा दिदि बहिनि मध्यकि जेठी। म हिजोआज फेसबुक म्यासेनजरमा कुरा गर्छु। कुरा गर्दा कान धेरै सुन्दिन भन्नु हुन्छ। फोटो देख्नु भो भनेर सोध्धा आँखा धमिला छन बावु। अलिअलि त देखेँ है। थप्नुहुन्छ। कहिले आउँछन भनेर सोधिरहुनु हुन्छ। म छिटै आउँछु भनिदिन्छु। यसो भन्दा मलाई भित्र भित्रै नरमाईलो लाग्छ। सन्चै हुनुहुन्छ भनेर सोध्यो भने उमेर अनुसारको सन्चै छु, खाना खान्छु, निद्रा पनि लाग्छ भन्नु हुन्छ। “नारयण हरि श्री कृष्ण परमात्मा” “हरि हरि” यि भगवानलाई वारम्बार सम्झनुहुन्छ। “मलाई काल लिन आएन” भन्ने हजुरआमाको थेगो नै हो। ८० वर्ष हुँदा देखि यहि भन्न थाल्नु भाको आज सम्म नि भनिराख्नु हुन्छ। हजुरबुवा क्यान्सरले ३३ वर्ष अगाडी वित्नु भयो।
आँपपिपल मिसन अस्पताल लगेका निको नभए पछि घरमै वित्नुभो, भन्नुहुन्थो। हजुरवुवा ७ वटा स्कुलको प्रधानअध्यापक भएर काम गर्नु भयो रे। त्यो जमनामा २ वटा विषयमा शास्त्री गर्नु भएको रे। हजुरआमा, हजुरबुवाका खासै सम्झना सुनाउन चाहनुहुन्न। उहाँको हजुरबुवा प्रति एउटा गुनासो छ। “पिन्सिन आउने काम गरिदिएको भए मैले अलिक सुविस्था पाँउथे” कहिले कहिले यसै भन्नु हुन्थो। हजुरआमाका केहि विचार र कुरा मलाई उत्तर आधुनिक लाग्छन। हजुराँका वोलिमा उखान टुक्का परिरह्नछ। भनिराख्नु हुन्छ। “लाउ/लगाउ सारी कुर्कुच्चा झारी, नपुगे वेच्छु है घरबारि” “तँ आज आको म दिक्क भाको” “भातमा पानी छैन तिउनमा झोल, शिरमा टोपी छैन खुट्टामा खोल” यि हजुरआमाका केहि मैले सम्झेका उखान हुन। उहाँका केहि विशेष मान्यता छन। जस्तै पैशा छैन भन्यो भने उहाँको जवाफ- “कमाको केका लागि हो? खर्च गर्न हैन ?” भन्नु हुन्छ। त्यस पछि नाजवाफ भईन्छ। अर्को झन चाख लाग्दो छ। हजुरआमा यो नखाँउ होला। सन्चो गर्दैन भन्यो भने। जवाफ- “हेरेरै मर्ने, छेरेरै मर्ने भन्ने आँउछ”। कसैले हजुराँ सन्चै हुनुहुन्छ भन्यो भने। जवाफ- “आफैत, बस्ने काल पर्खने” भन्ने आँउछ।
भाग २...
हजुरआमाले चप्पल
लाउन जान्नु भयो।
हजुरआमा कहिले
जन्मिनु भो कहिले। मिति खासै यकिन छैन। Date of Birth लेख्ने चलन भए पो! हेरि ल्याउँदा त्यसबेला नेपालमा राणा शासन चलिरहेको
थियो। यो १०० वर्ष अगाडिको कुरा। त्यसबेला चन्द्र शमसेर जङग बहादुर राणा नेपालको प्रधानमन्त्री
थिए। यता युरोपमा प्रथम विश्व युद्धको आगो बल्ल सेलाउन लागेको थियो। तर के विश्व
युद्ध, के चन्द्र शम्सेरको साशन हजुर आमालाई यो सब थाहा हुने
कुरा भएन। चन्द्रसम्सेर पछि पनि ४ वटा राणा प्रधानमन्त्री बेहोर्नु भयो। भिम शमसेर,
जुध्ध शमसेर, पध्म शमसेर र मोहन शमसेर।
हजुरआमा ३० वर्षकि हुदा नेपालमा राणा शासन अन्त्य भयो। यो २००७ सालको तिरको कुरा
हो।
त्यस पछि मातृका, विपि,
सुर्यबहादुर-, गिरिजा, मनमोहन
शेरबहादुर प्रचण्ड केपी गरि २५, ३० जना प्रधानमन्त्री भए।
यसरी मेरि हजुरआमा राणा, बहुदल, पन्चायत,
गणतन्त्रको साक्षी बस्नु भयो। तर के आयो के गयो पत्तै भएन। न पहिले
थियो न अहिले छ। गन्दर्भ (गाईनेहरु)ले गितमा विदेशमा युद्ध भो रे धेरै मान्छे मरे
रे भन्ने गित गाँउँथे। यस्तै थाहा पाईन्थो। यस्तै हावा सुनिन्थ्यो भन्नुहुन्छ।
हावा भन्नाले हजुरआमाले हल्ला वा कुराकानी भन्नु भएको हो।
जुगका(पहिले) कुरा गरेर के फाईदा
भन्नुहु्न्छ। तर म सोधिरहन्छु। ठोरी। नुन मट्टितेल लिन जाने ठाँउ। तनहुँ र लमजुङ
घरमाईति । हजुरबुबा विर्गन्ज्जा (विर्गन्ज) जजमानी गरेर बसेकाले केहि वर्ष
विर्गन्जतिर पनि बस्नु भयो। विर्गन्जमा भएको घर आगलागि भएपछि पहाड जाम भन्नु भयो
रे हजुरबुबाले। एकपटक गया र कासी (हिन्दुहरुका ४ धाम मध्य दुई धाम) जानु भो। यो
विदेश यात्रा भन्दा पनि तिर्थ हो। अहिले तिर्थ भन्दा पनि घुम्न जाने भन्छन। फर्यटन
हाम्रो चलन हैन। धार्मिक तिर्थवर्त हाम्रा चलन हुन। भ्रमण आधुनिक हो। तर हजुरआमाले
धेरै नघुमेपनि १०० बर्षको जीवनमा नेपाल र विश्वमा धेरै परिवर्तन भएको भेउ पाउनु
भो। हजुरआमा सबै देख्दै भोग्दै आउनु भएको छ। आधा घण्टाको पधेरो बाट ल्याउने १
गाग्री पानी समय घटेर चुलो नजिकै आधा सेकेण्डमा धारामा धररररर पानी थाप्न पाईयो।
आगो फुक्न पर्दैन। १ सेकेण्डमा ग्याँस ह्वाराररर बल्छ। यि र यस्ता सुबिधा थपिएका
थपियै छन। ५० वर्षको उमेरमा पनि चप्पल नदेख्नेले लाउनु भो। मोटर देख्नु भो चढ्नु
भो। गोर्खा पालुङटारमा जहाज चढ्नु भो। रेडियो सुन्नु भो। टिभि भने कहिले मन परेन, खाली नचरी (नाँच) आउँछ के हेर्ने
त्यो भन्नुहुन्छ। अहिले iPadमा फेसबुक म्येसेन्जरमा कुरा
गर्नुहुन्छ।
यो १०० वर्षको दौरान
कति भेल बाढि आयो। कति भैचालो आयो गयो। कति रोग र महामारी आए। कति रोगले मरे। कति
मारिए। कति युद्ध भए। तर मेरि हजुरआमा सति साल झै उभिरहन सक्नु भयो। सालको रुखलाई
“हजार वर्ष बढा- हजार वर्ष खडा –हजार वर्षा लढा” भनिन्छ। त्यसैले साललाई अग्राख
भनिन्छ। मेरि ह्जुरआमा अग्राख हुनुभयो। १०० बर्ष यो प्रकृतिसँग, रोगसँग,
भोकसँग, विपतसँग लडेर जोकोहिले यो धर्तीमा
बाँचेको ईतिहाँस छैन त्यो पनि हाँसीखुसी र स्वस्थसँग। १०० वर्ष बाचुन्जेल
हजुरआमाकै भाषामा जस्तै “उमेर अनुसार सन्चै छु, खाना पनि
रुच्छ, निद्रा पनि लाग्छ, आफै चर्पि
जान्छु” भन्न पाउनु खै हामी सकौला वा नसकौला।
हजुराँको पालामा
चप्पल थिएनन। अस्ति भर्खर जस्तो लाग्छ हजुराँ चप्पल लगाउन सिक्दै हुनुहुन्थो।
त्यतिवेला गाँउका धेरै बुढाबुढिहरु चप्पल नलगाई हिड्थे। हामी नाति पुस्ताले जन्मदै
चप्पल लगाउन पाएम। चप्पल लगाउन पाईने तर जम्मा १ जोर। स्कुल होस वा जन्त वा मामाघर
होस वा बजार त्यहि चप्पल। चुडिन्छ, तुना गाँस्यो लगायो।
पैतालाले चप्पल प्वाल नपरुन्जेल नयाँ नपाईने। कतिले त प्वाल ठूलो हुनेबेला सम्म
लगाउँथे। अहिले हजुराँका पनातिका १२ वर्षको उमेरमा १५ जोर जुत्ता चप्पल छन (जाडोमा
लाउने, ट्वाईलेटमा लाउने, स्कुल जाँदा,
पानिमा लाउने, छालाका, पार्टिमा
जाँदा …ईत्यादि)। हजुँरालाई भने चप्पल धेरै पछि वानी पर्यो। हिड्दा अल्झाउँछ।
लड्छु कि झै लाग्छ भन्नु हुन्थो। बाहिर निस्कन पर्दा कहिले काँहि चप्पल नलगाई तल
पुग्नु हुन्थ्यो। पछि ए ए मैले चप्पल लगाउन विर्सेछु फाल्दे त यता भन्नुहुन्थ्यो।
यो हजुरआमा ६०, ७० वर्ष हुदाको कुरा होला। उतिबेला कोहि
कोसैले पनि जुत्ता चप्पल लगाउदैनथे भन्नु हुन्थ्यो। कोहि कोहिले भने छालाका जुत्ता
लगाँथे रे।
आखिर जीवन हो जसरी
पनि चल्छ। मान्छे १० औँ हजार वर्ष देखि यहि पृथ्वीमा बस्दै प्रकृतिसगँ लड्दै आएका
छन। ढुङगे युगदेखि आजको Artificial Intelligent को समयमा सम्म । यसक्रममा पछिल्लो
पुस्ता सधै भाग्यमानि छ। पुर्खाको पौरखको र आविश्कारको कारण भौतिक सुख भोग गर्न
पाएको छ। न्याना लुगा लगाउन पाईएको छ। पेट भरि खान पाईएको छ। रोग लागे निको हुने
औषधि बनाएका छन। यो सबै हाम्रा, वुबा, हजुरबुवा,
हजुआमाका पुस्ताले गरेर यस्तो भएको हो। त्यसैले हाम्रो हिन्दु
परम्परामा पुर्खा वा पितृलाई सम्मान गरेर ७ पुस्तासम्म तर्पण र पिण्ड चढाईन्छ।
पहिले आमा हजुरआमाका
कुर्कुच्चाहरु पटपटि फुट्दथे। यि खालि गोडाले तल खोला छेउ वगर नजिक सिमखेत, टारको
पुच्छर देखि घाँस, मकै, पराल, धान, ओसार्दा ओसार्दाको कति धानुन। बल्लिया जुत्ता त
एक दुई वर्ष टिक्छन खालि गोडा त पातलो छाला नै हो। मेलापात बनजङगल गर्दा गोडा बाट रगत नै आउथे
भन्नुहुन्छ। हजुर आमाका मात्र होईनन सबैका गोडा यस्तै। छोरी, बुहारी, द्वारानि, जैठानी,
सबैले गर्ने त्यहि मेलापात
र खेतबारी। हात पनि छिया छिया हुन्थे। कतै काँडा विजेका हुन्थे। कतै घाँस काड्दा
काटिएका हुन्थे। कतै दाउराले कोतार्थे त कतै काँडाले कोतारेका। सग्ला नरम हात गोडा
देख्न नपाईने। हजुरआमाका हातमा काँडा मैले धेरै झिकिदिन्थे। काढाँ झिक्न तिखा खिप
वा सियो चाहिन्थ्यो। कति काडाँ आफै झिक्नुहुन्थ्यो। यो अलि वुढि भएपछि आँखाले
ठम्याउन नसकेपछिका कुरा हुन। धेरैजसो यि काँडा लज्जावति झारका हुन्थे। यो झारलाई
नमस्थे झार पनि भन्थे कसैले। हाम्रालागि यो जैविक सत्रु नै थियो। अग्रेजीमा Touch
Me Not भन्दछन। यसको पातलाई छोएपछि दोब्रिएर नमस्ते गरेको जस्तो
गर्छ। यस्का काडाँ साना र थरै बाङ्गिएका हुनाले छालामा कोतार्ने र विजेपछि निकाल्न
गाह्रो हुन्थ्यो। यो घाँस पाईने ठाँउमा जतासुकै हुन्थ्यो। हामी पनि सक्ने भएपछि
धाँस काट्नु पर्थ्यो। मलाई यसबाट बच्ने उपाए के होला भन्ने लाग्थ्यो। गाई बस्तुले
पनि यो काडँ झार रुचाउथे। मलाई हाम्रै बारीमा यो झार धेरै हुन्छ कि के हो जस्तो
लाग्थ्यो। मैले एक पटक बाक्लो उनको पन्जा फेला पाँरे । यो लगाएर घाँस काट्न थाले
केर्हि राहत मिल्यो। यो touch Me Not झार देख्दा मलाई खुब
रिस उठ्थ्यो। हजुरआमालाई यो पन्जा लगाएर काट्नु न भनेको अल्झायो झन भनेर मान्नु
भएन।
भाग ३… हजुरआमाको १२ हाते पटुका।
चाहेको कुरा मिलाएर छोट्टोमा लेख्न नसक्नु भाषामा कम्जोरी हुनु हो।
लेख्दा लेख्दै लामो भो। के गर्ने। फेसबुकतिर भन्दा किताब तिर लाग्नु पर्ला जस्तो
भो। रुचि र जाँगर भएमा लेखौँला। अहलेलाई यतै फेसबुकमा मात्र।
हजुरआमालाई मैले सोधेँ। पहिले पहिले के लुगा लगाउनु
हुन्थ्यो भनेर। लुगा भने खद्दरका। हजुरआमा भन्नु हुन्थ्यो। धोती, गुनियाचोलो, पटुका, रात दिन
त्यहि। शिरमा हजुरआमाले सानो पछ्यौरा कहिले छोड्नु भएन। तराईमा पुरुषहरुले गम्झा
काँधमा राखेको जस्तो। चप्पल चाँहि नलगाउने टाउकोमा पछ्यौरा किन? मैले सोधेँ। गोडा भन्दा शिर या टाउको महत्वपुर्ण हो त्यसैले शिर ढाक्नु
पर्छ भन्नुहुन्थ्यो। यसो सोँचे हो त। तर हिजोआज शिर भन्दा गोडाको हेरविचार धेरै
गर्छन मानिसहरु। हजुरआमा पटुका बाँध्नु हुन्थ्यो। ८ हाते १२ हाते पटुका चल्तिमा
थिए। सानो हुँदा किन महिलाहरुले पटुका लगाएका होलान भन्ने लाग्थो। पुरुषहरुले
बाँध्ने चलन थिएन। कम्मर माथी र कम्मर तल लुगा छ तर विचमा फनफनि बेरेर किन लगाएका
होलान जस्तो लाग्दथ्यो। ठुलो भएपछि अनुमान गरेँ। पटुकाले दुई काम गर्ने रहेछ। एक ढाडलाई सोझो
बनाई राख्थ्यो। अर्को पैसा, खानेकुरा, हँसिया
लगायत सरसमान राख्न पाईने। पटुका पहाडे किसानी-कामकाजी महिलाको ठुलो भरोषा थियो।
महिलाहरु कामै कामले निहुरिनु पर्ने। हजुआमा भान्छामा , खेतमा,
गोठमा, बारीमा निहुरिपरिरहने। पटुकाले मेरुदण्ड सोझाउने काम गर्दथ्यो भन्ने
मलाई लाग्छ। हिजोआज ढाड दुख्नेले ‘वेल्ट’ बाँधे जस्तो होला। हजुरआमाले रङ्गिचङ्गि
लुगा लगाउनु भएको मैले देखिन। म जन्मेको एक दुई वर्षमा हजुरबुबा खसेकाले/वितेकाले
हजुरआमाले विधवा-पहिरन लगाउन थाल्नु भएको हो जस्तो लाग्छ। अचेल विधवाले सादा लुगा
लगाउँदैनन। अचेल विधवा नभनेर एकल महिला भन्छन। यो मलाई मन पर्दैन। के हो एकल महिला
भनेको बुझ्न गाह्रो हुन्छ। एक्लै भएकि वा कोहि नभएकि जस्तो हुन्छ। यो INGO/NGO
को भाषा हो। विदेशिले लादेका। स्वास्नी नभेनर श्रीमती वा लाईफ
पार्टनर भन्ने चलन छ। सुवास छर्ने भएकाले सुवासिनी भनेको रैछ। अपभ्रंश भएर
स्वास्नी भएको रैछ। यस्तो राम्रो शब्द रहेछ। हुँदा हुँदा भुस्याहा कुकुरलाई पनि
भुस्याहा भन्न नपाईने रे। सामुदायिक कुकुर भन्न पर्ने रे! म तिन छक्क पर्छु।
हजुआमा खद्दरका सेता धोति लगाएर अर्धाङ्ग भएर भात
पकाउनु हुन्थ्यो। धोतिले नै छाति ढाक्ने। भान्छामा पकाउँदा पनि सधै त्यस्तै
गर्नुहुन्थ्यो। खै किन हो त्यो मैले बुझेको छैन। यसो गर्दा चोखो हुनाले होकि जस्तो
लाग्छ। यसो गर्दा चोखो कसरी हुन्छ, मैले बुझेको छैन।
हरेक विहान नुहाउने र सफा कपडामा भान्छा छिर्ने। खाना पकाएर नखुवाईन्जेल र
नखाईन्जेल भान्छा बाहिर भित्र जानुहुन्नथ्यो। हरेक दिन यस्तै गर्ने। भन्छा बाहिर
निस्किहालेमा भान्छा छिर्नुअगि हात गोडा धोएर मात्र पस्नुहुन्थ्यो। खाना पकाउने
चुलोमा हामी नातिनातिनालाई छुन पनि दिनुहुन्थ्यो। हाम्रोमा यो चलन पछि सम्म भएको
मलाई थाहा छ। भान्छेले सधै नुहाएर पकाउनुपर्ने र
केटाकेटि वा अरुले छुन नहुने किन होला भन्ने मलाई लाग्थ्यो। सायद यो खानामा
contamination हुन्छ भनेर हो कि? भान्छे वाहेक अरुले खाना छुन
नपाईने। बढो अचम्म के भने दिशापिसाबका लागि चर्पि नहुने। गोबर, माटो छोएपछि दिसा, पिसाब गरेपछि राम्रोसगँ हात धुने
प्रचलन थिएन। खरानी त प्रयोग गर्ने चलन थियो तर हिजो आज जस्तो साबुन पानीले धोएको
जस्तो प्रभावकारी हुन्थ्यो जस्तो मलाई लाग्दैन। भान्छामा भने यति धेरै चोखो चाहिने। चोखो गर्ने भनेको एउटा सरसफाई हो
जस्तो लाग्छ। अर्को आफु भन्दा तल्लोसगँ विटुलोसगँ सम्वन्धित छ जस्तो लाग्छ। मैले
युरोपति रेष्टुरेन्टमा पनि chef वा cook बाहेक भान्छामा waiters वा अरुकोहि छिर्न नपाउने
नियम देखेको छु। मैले भारतको जगन्नाथपुरीको मन्दिरमा २०, ३० जना
भान्सेहरुले टन्न खाएर नुहाएर पकाउन बसेको देखेको छु। तिनिहरुले दैनिक ४-५००
जनालाई खाना बनाँउछन। त्यसो गर्नाले भान्छे सफा हुने भए र टन्न पहिले खाएपछि
पकाँउदै गरेको खाना चाख्न वा लोभले जुठो नहाल्ने भए। मलाई त्यो चलन ठिकै लाग्यो।
यो मन्दिर भारतको ओडिशा राज्यको समुन्द्र तटको पुरी भन्ने ठाँउमा छ। यहाँ नेपालका
राजाले मात्र मन्दिर छिर्न पाउने रहेछन। फेरि हजुरआमाकै प्रसगं। हजुरआमा चुलेसीले
तर्कारी काट्नु हुन्थ्यो। अहिले प्राय भान्छामा चपिङ बोर्ड र चक्कु प्रयोग गर्छन।
खाना बसेर पकाउने प्रचलन थियो। पिर्का वा चकटिहरुमा पलेटि कसेर खाने गर्दथे।
हजुरआमाले आफुले खाने बेला थालको वरिपरि ५ पटक खाना चढाउनु हुन्थ्यो। पृथ्वी,
जल ,तेज, वायु र आकासलाई
चढाउनु भको रे। किन चढाउनु भएको भन्दा; पृथ्वी यानेकि माटो
नभई अन्न फल्दैन। पानी त्यस्तै। तेज भन्को अग्नी। यो नभई खाना पक्दैन। बायु र
आकाशको उत्तlकै महत्व छ। म पकाउने मात्र हो यि कुरा नभई मेरो
थालमा भात तर्कारी आउँदैनथ्यो। भन्नुहुन्थ्यो। यो प्रकृतिलाई पुजेको होला।
पछिपछि फरिया, वुलोच, बुनुवा, स्विटर, लाउन पाईयो।
हजुरआमा सुनाउनु हुन्थो। अहिले हजुरआमाका प्रसस्त लुगाहरु छन। धेरै ईष्टमित्रहरुले
धोति पछ्यौरा जस्ता कपडा उपहार ल्यादिन्छन। कति त अरुलाई पनि दिनुहुन्छ। हिजो आज
पनि विहनन विहान नियमित नुहाउनुहन्छ। दैनिक लुगा फेर्नुहुन्छ। तर धोति पछार्न
गाह्रो हुन्छ भन्नु हुन्छ। यो धोति/साडी कति ठुलो लामो लाग्छ। कपडा भने ६ मिटर
लामो हुने। १२ हातका भनम न। लगाउन पनि सजिलो हुन्न भन्छन। ‘सिहार्न/सम्हाल्न पनि
गाह्रो’ भन्नु हुन्छ हजुरआमा। बुढाबुढिलाई धोतिले उल्टै अल्झाउने। हजुरआमा यस्तै
भन्नुहुन्छ। मलाई पनि यो धोतिले जाडोमा न्यानो हुन्न जस्तो लाग्छ। रुख चढ्न। अलि
लामो पाईला हिड्नु वा दगुर्नु परे पनि सजिलो हुन्न जस्तो लाग्छ। अचेल कुर्था
सलर्वार लगाउने प्रचलन छ।
खाटमा तन्ना हाल्ने चलन थिएन। परालबाट बनाएका गुन्द्री माथी कपडाका बिछयाउना। ओढ्ने
चाँहि राडी, पाखी, दरी वा काम्मल अनि
कसैकसैकोमा सिरक पनि हुन्थे रे। हजुरआमा उहिलेका दिन सम्झनुहुन्छ। कहिलेकाँहि ति
ठुस्स गनाएका हुन्थे। दशैँ वा श्राध्दमा वा कोहि मरे भने यस्ता डसना, कम्मल, पाखि, धुन लग्थे। साबुन
नपाईने हुनाले खरानी र पानी पकाएका डुला ठुला ताउलोमा लुगा पकाएर महिलाहरु मिचि
मिचि धोएर सुकाउँदथे। यस्तो बेला गाउँका वा वल्ला घर पल्लाघरका सबैले साथ
दिन्थे।
उनिबेला हजुरआमा प्राय सियो धाको खेलाईरहेको देख्थे।
घरमा कसैको लुगा च्यतियो वा उध्रियो भने हजुआमा सिलाउन बस्नु हुन्थ्यो। पछि सम्म
सियोमा धागो आफै घुसाउनु हुन्थ्यो। ४, ५ पटक नभए ट्राई
गर्दा नछिरेपछि पछि ल ल यत्ति गर्दे भन्नु हुन्थ्यो। र आँखा मिच्दै बुढो भईयो आँखा
धमिला भए भन्नुहुन्थ्यो। कपडाहरु च्यतिने
र उद्रने हुँदा हजुरआमा र हाम्रा पनि लुगा टालेर लगाउने चलन थियो। उहिले सम्पति
भएपनि नगद नहुनाले झट्ट किन्न पनि पाईदैनथ्यो भन्नुहुन्थ्यो। लुगाका प्रकार पनि
धेरै थिएनन। सबैले टालेरै लगाउने हुनाले खासै फरक पर्दैनथ्यो भन्नु हुन्छ। पछा पछि
टालेको लगाउने हराउँदै गयो। टा को लगाए ईज्जत जान्छ भन्थे। आझै पनि पैशा नहुनेहरुले यस्तै टालेर गगाएको
देखिन्छ। टालेका लुगमा कपडाको रङ अनुसार धागो प्राय मिल्दैनथ्यो। नमिले पछि धागो रङ्गिचङ्गि
भएको मलाई खासै मन पर्दैनथ्यो। के हुन्छ त अर्कै रङको भएर भन्नु हुन्थ्यो हजुराँ ।
मलाई हल्का रिस उठ्थ्यो। यो सानो बेलाको कुरा हो। हामीहरु हुर्कदा धेरै सुबिधा
आईसकेको थियो। टालेको लुगा अहलेको गन्च जस्तो लाग्छ मलाई। टाढैबाट देखिने। अहिले
नयाँ पनि टालेको जस्तो वा प्वाल परेको लगाँउछन। किन हो म बुझ्दिन। मेरा पनि यस्ता
२, ३ जोर ग्रन्च जिन्स पेन्ट छन। मैले किन रोँजे मलाई थाहा
छैन। बजार नियन्त्रित अर्थब्यवस्थाले होला कि? मेरो रोजाई
बजारले नियन्त्रण गर्छ भन्छन अर्थ र समाजशास्त्रिहरु। तर यो सब म जान्दिन।
भाग… ४
हिजोआज हजुरआमा चाउचाउ
खानुहुन्छ। शाकाहारी। कुनै ‘मसरुम’ फ्लेवरका त कुनै ‘आस्पारगस’ फ्लेवरका। पहिले
हजुरआमा विटुलो भनेर चिउरा, विस्कुट, मिठाई
लगाएत बजारमा पाईने धेरै तयारी खानेकुरा खानुहुदैनथ्यो। मिठो छ, खानुस न भन्यो भने ‘कस्ले बनाको हो भनेर भो खान्न तिमीहरु खाओ’
भन्नुहुन्थ्यो। चिनी, मिश्री, नरिवल,
छोडा (छोकडा/खजुरको सुकुटी), गुदँपाक आदि भने
खाने। कोषेली ल्याएका सेलरोटि, कसार, गुदपाक,
कुराउनी पनि खानु हुन्थ्यो। यि चोखो भित्र पर्दथे। बजारमा पाईने
केहि खानेकुरा खानु हुन्थ्यो, केहि खानु हुन्नथ्यो। म सानोमा
छुट्याउन सक्दैनथेँ । तर सोधखोज गर्दा किन विटुलो भो किन चोखो भयो भन्ने कुराको
कारण फेला पर्दथे। आजभोली खासै बार्नु हुन्न। मानिसले सकेसम्म आफ्नो मान्यतामा र
संस्कारमा अडिग रहन खोज्दो रहेछ। र ईच्छा पुरा गर्ने रहेछन। यो ‘सकेसम्म’ भन्ने
बहुत जटिल रहेछ । नसके पछि के गर्नु? चलाउनु पर्यो। एकदिन
यस्तो आयो हजुरआमा काठमान्डु जानु पर्यो। केहि महिना नै बस्नु पर्ने भयो। त्यस अगि
हजुरआमा आफैले पकाएको मात्र खानु हुन्थ्यो। तर अब भात बाहेक अरु हजुरआमालाई जे
खानेकुरा दिन्छन खान थाल्नु भयो। भात पकाउँदा नुहाएर पकाओ भन्नु हुन्थयो। यो ८० वर्ष जति हुदाँको कुरा हो। चल्न थाल्यो
भनम न। ‘सकिन्जेल बार्ने नसकेपछि के गर्ने त’ ? भन्नु
हुन्थ्यो।
चोखो खानेहरुले भान्छामा
एउटा अनौठो चलन अझै सकेसम्म गरिरहेका छन। भान्छामा दाल, तरकारी, अचार, साग लगाएत यावत
कुरा अरुले पकाएको खाने। तर भातका लागि राईस-कुकरमा कसैले तयार पारेर राख्छ। अनि
आँफु स्वयंले विजुली ‘अन’ गर्ने। यो चोखो भो अब। हजुरआमा हजुरबा पुस्ता हुनेको
घरमा यो चलन चलिनै रहेको छ। कहिले कहिले हजुरआमा जुठोचोखो वा लसपस गरेको देखेमा “हैन!
सबै एकछत्तै (एकछत) गरेका किन हो” भन्नु हुन्थ्यो। हजुरबुबा विते पछि हजुरआमाले
माछामासु खान छाड्नु भो। हाम्रो घरमा खसी बोकाको मासु मात्र खाने गर्दथे। कुखुरो
चरम विटुलो चिज हो बाहुनको भान्छामा। यो कहिले चलेन हाम्रो पनि। खसी चल्ने कुखुरो
नचल्ने किन होला? यो विवादित विषय छ। यो आस्था र परम्परासगँ
जोडीएको छ जस्तो लाग्छ। हिजोआज कुरा अर्कै बनायौ हामीले। जनै पनि भिर्ने। भैसिको म:म
पनि खाने। सुकुटि खाने। जनै नछाड्ने फेरी। यो जुठो चोखो कुरामा कृष्ण प्रणामी
अनुयायी कट्टर देखेको छु मैले। उनिहरु बोल्दा पनि जुठोचोखो बार्ने। तरकारी
काट्नुलाई-‘तरकारी सुधार्नु’ भन्छन। अरु कुरामा त कति हो कति बार्ने!
हजुरआमाको पालामा खानेकुरा उति हुदैनथे। उहिले
खानेकुरा धेरै थिएनन। म नति, पच्चिस वर्ष अगाडि र अहिले आनका
तान फरक पाँउछु। आलु धेरै पछि आकोहो। अहिलेको जस्तो आलु, काउली,
बन्दा, भिडि, करेला,
सिमी, ब्रोकली, चना,
रहर, केराउ, धनिया पहिला
थिएनन। हजुरआमा भन्नुहुन्छ। चाढपर्वमा मानेचौका र कुन्छा तिर आलु किन्न पाईन्थो। ‘मानेचौका’
‘कुन्छा’ भनेका त्यो बेलाको दोकान भएका ठाँउहरु हुन। यि ठाँउ तनहुँ र लमजुङको
सिमानामा पर्छ। कुन्छा त लमजुङको पुरानो सदरमुकाम हो। अड्डाहरु र आवा (टेलिफोन
होला) गर्ने ठाउँ त्यतै थिए। सम्झदै भन्नु हुन्छ हजुरआमा। दैनिक खाने तरकारी भनेको
कर्कलो (हरियो बफाएर वा तान्द्रा बनाएर), पिडाँलु, रायो तोरीका साग, मुला, फर्सी,
भट्टमास, गुन्द्रुक, गिठ्ठा
भ्याकुर, तरुल, कालोदाल यस्तै चिजहरु।
फलफुलमा आँप, निबुवा, ज्यामिर, काँक्रो, मेवा, केरा, कटहर पाईन्थे भन्नु हुन्छ। अहिले त फलफुल थरिथरिका पाईन्छन। हुदाँ हुदाँ
दक्षिण अमेरिकि देश मेक्सिकोको फल एभोगाडोको दुईवटा बोट सुन्दरबजार घरमा हुर्कदै
छन। हजुरआमाले यो पनि चाख्न पाउनुहुनेछ। भात १२ महिना पुग्ने गरि खान पाईदनथ्यो
भन्नुहुन्यो। धान धेरै उब्जनि नहुनाले मकै, घैया, कोदो, फाफरका रोटि वा ढिडो खान पर्ने। धानखेत धेरै
भएपनि उत्पादकत्तो कम भएर धान उब्जनि कम भएको हो जस्तो लाग्छ। उहिले धान पाक्न ६
महिना लाग्दथ्यो। पुरानो धानको भात असाध्धै नरम र मिठो हुन्थे। असारमा रोपेर
मुङसिरमा धान भित्र्याउने। अपभ्रंस भएर आषाढलाई असार र मङसिर मुङसिरलाई भन्नु
पुगेछु। हिजोआज उन्नत र धेरै फल्ने धानका विउ पाईन्छ। रोपेको बढिमा ४ महिनामा धान
पाकिसक्छ। उत्पादकत्तो धेरै पनि छ। थोरै लगाएर वर्षभरि नै भात खान पाईन्छ। यो
हाम्रो प्रगति हो। वर्ष भरि राम्ररी खान नपाउने ठाँउहरु हाम्रै नेपालमा मैले घुमेर,
बसेर, देखेर आएको छु। प्रगति सगै हामीले
विक्रति पनि ल्याएका छौ। यसबारे यसै लेखको अन्तिममा दुई अनुच्छेद लेखेको छु।
तादिमा (उहिले] सबैकोमा दुईवटा कसौडीमा खाना पकाउँथे।
मुख सानो र पेट फुकेको भाडो हो कसौँडी। हिजोआज यो भाडोको दिन सक्किएर राईस कुकर र
प्रेसर कुकरको दिन सुरु भए। हजुरआमा यि खासै चलाउन जान्नु हुन्नथ्यो। प्रेसर कुकुर
सिठ्ठि लाग्दा सुरुमा डराएर भागम्ला झै गर्नुहुन्यो। भन्नु हुन्थ्यो कसौडी नै
सजिलो। पहिले एउटा कसौँडी चामलको भात र अर्कोमा मकैको भात। हामीले पनि सानोमा मकैको
भात खाएको मलाई याद छ। तिन दशक अगाडिको कुरा हो यो। हजुरआमाले हामीलाई मकैको भात
पकाएको दिनमा अल्लि धेरै दुध हालिदिनु हुन्थ्यो। अचेल मधुमेहका विरामीको घरमा
भिन्दाभिन्दै भाँडामा भात, मकै, गहुँ(रोटि)
पाके जस्तो। उहिले अभावले होला अहिले स्वास्थको कारणले खाने गर्छन। गाँउमा
अरुहरुको घरमा पनि यस्तै खाने गर्थ्रे। दुध, दहि, ध्यु, भने प्रशस्त हुने। सबैका घरमा गाई भैसी पाल्ने
चलन थियो। गाई भने गोबर, गहुँत, मल र
कर्म(कर्मकाण्ड) लागि पाल्थे। तर भैसी भने
दुध ध्युका लागि पाल्ने चलन थियो। हाम्रो जीविका कृषि, बस्तुभाउ
र बनजंगलसग गासिएको थियो। खेतिका लागि मल चाहियो। बस्तुभाउको घाँसका लागि बनजङगल
चाहियो। हजुरआमा थप्नुहुन्छ। उहिले लैनु र बकेर्नो भैँसी सबैका घरमा हुन्थे।
त्यसैले ‘गाई भए गोरस, भाई भए भरोष(भरोषा)’ भन्ने चलन थियो।
उहिले गाई भैसी गोरु बाख्रा
टनाटन गोठ भरि हुन्थे। घरमा सबै सदस्य ‘फुल टाईम’ नै कृषिमा लाग्थे। खेति लगाउने
थन्काउने बेला गाँउका सबैले सहयोग गर्दथे। मल बोक्ने। दाउरा काट्ने। गाँउबेसी
गर्ने सबै काममा गाँउलेहरु पर्म गरेर र ऐँचोपैँचो गर्थे। यसै गरेर सबैको खेति
लगाँउथे। अन्न भित्राउँदा पनि गाँउले सबैको आलोपालो गर्थे। परेली गर्थे। खेति
भित्राउँदा उत्सब र चाढपर्व आएको जस्तो लाग्थ्यो मलाई। मलाई अझै संझना छ। जिम्मलको
वा मुखियाको रोपाई सुरु हुदा पन्चे बाजा बजाएर सुरु गरेको। गाँउका सबैको रोपाई
सकेपछि ‘मैजारो’(भोज) खाने गर्थे। खेति लगाँउदाका रोपाहार, हलि, कोदाले, बाउसे, गाँउका सबैलाई डाकेर भोज खुवाउने चलन थियो। हजुरआमा यतिबेला धेरै खट्टिनु
हुन्थ्थो। त्यस दिन मिठो मसिनो पाक्थ्यो। दुई तिन थरी तरकारी अचार बनाउने। ध्यु
हालेर भात पकाँउथे। परिकार पाक्थे भनम न! धान धन्काएपछि मङ्सिरमा विसौनी(भोज) पनि
यसै गरि खाने गर्दथे। गाँउका मानिस एक्दमै सहयोगि हुन्थे। दुख, विराम, विहे, मृत्युमा झरप्प
एकजुट हुन्थे। लाग्छ आफैलाई दुख परिरहेको छ। गाँउ एउटै परिवार जस्तो हुन्थो। मानिस
गरिब थिए। पैशाको अभाव थियो। तर मानिस दरिद्र थिएनन। गाउँका मानिस सारै सहयोगि
हुने। सारै हितैषि पनि। पल्लो घरका काका हुन वा छिमेकि दाजु, ठुलबाउ हुन वा भाउजुहरु। आफुभन्दा बुढापाका र ठुलाले भनेपछि शिरोधार्य
गर्थे मानिसहरु। यो अनुसासन र नैतिक कुरा हो जस्तो लाग्छ। नदेखिने तर परिवार
गाँउसमाज अग्रज नयाँ पुस्ताको सम्बन्ध गाडा राख्न चाहिने चिज हुन। पहिला सबै
राम्रो भनेको होईन। बदमास, कपटि, बापती,
जाली मानिस पनि थिए। तर अहिले भन्दा धेरै कम होकि। मलाई यस्तो
लाग्छ। लमजुङ, तनहुँ र गोरखातिर गाउँमा बसोबास र बेसीमा
खेतिपाती हुनाले मानिसले सारै कष्ट भोगेका थिए। मानिसहरु दुख भन्दा नि कष्टमा थिए।
दुख मानसिक हो कष्ट सारीरिक हो। धनि मानिस पनि दुखि हुन सक्छ तर उसले कष्ट खासै
भोग्नु पर्दैन। उहिले कष्टपुर्ण जीवन। अहिले सहज र सुविधा थपिएको छ।
हजुआमा गाईबस्तुलाई डिँगा (बस्तुभाउ) भन्नुहुन्थ्यो।
यो डिँगा भनेको हेपेर वा रिसले भन्ने शब्द हो भन्ने मलाई लाग्छ। हाम्रो घरमा ध्यु
टिनको वा सिसाका बट्टामा भरेर राख्ने चलन थियो। दहि मथ्ने। नौनी(Butter) झिक्ने काम हजुरआमा गर्नु हुन्थ्यो। नौनी तताउँदा हरर वासना आउँथ्यो। ठेकि
मदानी माझ्ने, दहि जमाउने सबै हजुरआमाले गर्नु हुन्थ्यो।
प्राय लैनु भैसी हुँदा हरेक दिन बिहान दहि मथ्नु हुन्थ्यो। आमा हजुरआमा सबेरै ब्रम्ह
मुहूर्तमा उठ्नु हुन्थो। आगो फुक्ने। दैलो पोत्ने। नुहाउने। गोठका धन्दा।
बस्तुभाउलाई खोले। हाम्रोमा खोलेलाई कुँडो भन्छन। यि सबै अध्यारोमा भ्याउँथे।
रिमरिम उज्यालोमा पुजापाठ, धुपधिप, चियाको
वासना आईसकेको हुन्थ्यो। बिहानको सङ्ख बज्न थाल्दथे। काग र अन्य चराचुरुङ्गि
चिरविर सुनिन्थ्थो। हजुरआमा काग करायो भने त्यतै फर्केर सुबोल सुबोल भन्नु
हुन्थ्यो। यो हरेक विहानको नित्य कर्म हो। उहिले उहिले बिहानै सङ्ख बज्यो भने
बाहुन गाँउ भनेर जान्नु, कुखुरो बास्यो भने बाहुन घर हैन
भनेर जान्नु भन्थे। हामीकहाँ बन कुखुरा बास्थे। बासेको आवाजले (calls) बन कुखुरा हो कि घर कुखुरा बासेको सजिलै छुट्याउन सकिन्थ्यो। यि सारा पुराना दिन र कुरा कहिले कहिले म झलझलि
सम्झन्छु। सम्झदा नोष्टाल्जियाले सताउँछ। नोस्टाल्जिक हुन प्रगतिबादि नहुनु हो
भन्छन। तैपनि पुराना दिन आहा नै लाग्छन मलाई। मिल नआउँदा विहानै ढिकि कुटेका जाँतो
घुमेका आवाज आउँथे। बाख्रापाठा कराउन थाल्थे। लगभग साडे ६ वा ७ बजे अगाडि सबै काम
सकिसक्ने आ आमाले।
ढिकी जाँतोबाट सुरु भएको
दैनिकी दैलो पोत्ने, सरसफाई गर्यो, धाँस
पात गर्यो, भात-तिउन भन्यो, दिउँसो
मेलापात, गाई भैसीलाई कुडोपानी, विस्कुन….
ओहो केके हो केके! हजुरआमा एक्कै स्वासमा भनिसक्नु हुन्छ। एक दिन हैन दुई दिन हैन,
हप्तौ महिनौ र बर्षौ यहि दैनिकी। हजुराँ यसलाई ‘लुते धन्दा’
भन्नुहुन्थ्यो। कहिलेकाँहि ‘टन्टो कहिले नसकिने, यो पेट
भईन्जेल मानिसले दुख पाँउछ’ भन्नुहुन्थ्यो। “त्यहि हातमुख जोर्न जनावरले त्यति दुख
गर्दैन यो हाड-छालालाई (मान्छे) यति गाह्रो छ” भन्नु हुन्थ्यो। अरुकोमा मलाई थाहा
छैन। तर बाहुनको घरमा एक घण्टा पुजाभाडाँ माझ्ने, बत्ति
बाल्ने, नुहाई ध्वाई पुजापाठमा आधा घण्टा बढि समय यसैमा
वित्छ। ‘के गर्ने खै लुते धन्दा गर्यो बस्यो’ के हिँउद के वर्षा। सधै भ्याई
नभ्याई। प्राय यो कुरा हजुरआमा सुनाउनु हुन्छ। हजुरआमाले एउटा गित भन्नु हुन्छ
यस्तो बेला। “डडरङ्गं डडरङ्गं गोरखाली बाजा, रातिराति हिड्ने
गोरखाली राजा, हामीलाई धनले कहिले पुग्दैन, बाहुनको टन्टा कहिले छुट्दैन”। यो सायद पृथ्वी नारायण साहले लमजुङ आक्रमण
गर्दाको भाव सहित गित होला जस्तो लाग्छ। तर बुहारी पाएका सासुहरुले यि टन्टाबाट
झण्ढै ७०, ८० प्रतिषत कामबाट मुक्ति पाउँथे। यसलाई ‘सासु भई
खाकि, बुहारी कजाउने’ भन्ने शब्दावली प्रयोग गर्थे मानिसहरु।
माथी भनेको दुई अनुच्छेदका बारेमा…यसमा
हजुरआमाका भन्द मेरा बुझाई र असन्तुष्टि छन।
घैया, सुख्खा
पाखोबारिमा फल्ने वाली हो। पानी नलाग्ने
पाखाबारिमा रोपिने एक किसिमको धान हो। बैज्ञानिकहरु हिजोआज खडेरी सहने धान
आविस्कार गर्न ‘रिसर्च’ गरेर हैरान छ। घैया खेतिलाई बढवा दिए हुने हो। भएको हेलाहाँ
गर्ने। नयाँ केके नै हो जस्तो गर्छन। यो मलाई अचम्म लाग्छ। हाम्रो पारा देखेर।
हराभरा पृथ्वी छाडेर मगंल ग्रह र चन्द्रमामा खरबौ खर्च गरेर पानी खोजे जस्तो लाग्छ
मलाई। भएकोमा सदुपयोग गरे भो नि। कति कुरामा हामी त ज्यादै निकृष्ट भयौँ भन्ने
लाग्छ। हामी दुना टपरी छाड्ने, प्लास्टिकको use and
throw प्लेट किन्ने। सालको पातको नेपालमा के दुख छ र ! यसैलाई
ब्यवसाहिककरण गरे हुँदैन ? जनै नलगाउने, टाई लगाउने? ब्रतबन्ध गरेको भोलि पल्ट जनै फुकालेर
फाल्ने। र स्कुल जानेबेला टाई दम्लो जसरी घाँटिमा झुण्डाउने। ‘टाटु हान्दा’ मोर्डन
भईने। दुप्पि पाल्नेलाई हेँला गर्ने। मकै नखाने, पपकर्न खानु
पर्ने। पुरानो घर नबनाउने। सिमेन्टका RCC (Road Concrete Cement) चिसो घर चाहिने। हाम्रा पुराना घरहरु जाडोमा घर बाहिर भन्दा न्यानो।
गर्मिमा बाहिर भन्दा सितल हुन्थे। यस्तो घर पुरानो, पाखे भो।
पन्चामृत हेलाँ गर्ने होलि वाईन सुरुप्प पार्न पर्ने? आफ्नो
परम्परा देखिको ढुकुटि मास्ने, सहकारी र माईक्रो फाईनान्स
खोल्ने। “बसुधैव कुटुम्बकम” नमान्ने ‘ग्लोबलाईजेन’ घोक्दै हिड्ने। शिव पर्वतिको
प्रेम कहानी नराम्रो, भ्लेन्टाईन राम्रो हुने। गाईबस्तुको मल
हालेर बाउ बाजेले खेति, सागसब्जि, तरकारी
लगाए, खाए। त्यो हेलाँ भो। बिदेशिले Organic भन्दियो। ४ हात उफ्रिएर अर्गानि भन्ने थाले नेफोलिहरु। हामीले बनाको हो Pesticides
र Fertilizer? हामी त सबै Organic फलाएर, खाएको हुर्केको थियौ नि! हैन र ? गाईबस्तु पालेर त्यसैको मल हालेको फलाएको खाएको गरिबि भो। पाखे भो। गाँउले
भो। Organic खाने धनि भो अहिले? सभ्य
भो? “Back to Organic” रे कृषि मन्त्रालयको नारा। यस्तो बेला
मुख छाड्न मन लाग्छ मलाई। तर ईज्जतको सवाल छ। के गर्ने? औँला
टाईप गर्न मान्दैनन। चारखुट्टे खाटमा नसुत्ने बक्स पलङ चाहिने। भुकम्पमा लुक्न त
मिल्थ्यो चारखुट्टे खाट। चार खुट्टेमा सुत्ने गरिब भो। त्यहि गरिब गाँउले पाखे भो।
बक्स पलङमा सुत्ने धनि भो। ऐला, तिनपाने, छ्याङका घ्याम्पो र जर्किन पुलिसले फुटाँउदै, लात्ताले
हान्दै हिँड्छ। विदेशि वाईन र ह्विस्कि घर घरमा स्वागत गर्छ। यो आधुनिकताको
प्रतिक। सभ्यताको परिचय। गाँजा खेतिमा प्रतिबन्ध लगाउँछन। सुर्ति आयत गरेर चुरोट
खुल्ला गर्छन। नेपाली भएर नेपाली नजान्ने अग्रेजी जान्नु पर्ने। मान्नुस भो
बिहादेखि सारा नेपालीले अग्रेजी जाने रे! अब के चात्कार हुन्छ? अमेरिका भैहाल्छ भोलिबाट? नेपाली पहिले जानौ। अनि
अग्रेजी पनि जानौला। अब मौलिक र रैथाने जोगाउने बेला भयो। हाम्रा परम्परा र
संस्कार पनि राम्रा छन। हामीले हाम्रो मौलिक कुरा रैथाने कुरा जोगाउने सुधार गर्ने
पो हो त। मास्दै हिड्ने। विरोध गर्ने गर्छन। विदेशि जे पनि राम्रो। विदेशिले भन्यो
भने पित्तल पनि सुन हुन्छ जस्तो गर्छन। आफनो बाउ बाजेको हेला गर्ने। यो हिन भाव
त्याग्ने बेला आएको छ। “आमालाई हेलाँ गरेर सानिमालाई माया” गरेका छन। पहिला
आफ्नोलाई, आमालाई मायाँ गरौ। पछि अरुकोलाई र सानिमालाई पनि
माया गर्दै गरौला। म पनि सुध्रिनु पर्ने छ। हामी सबै पर्ने छ।
भाग ५…

No comments:
Post a Comment