7/22/21

किन हुन्छ बलात्कार ?

किन हुन्छ बलात्कार ?

उषा किरण रेग्मी, विकल्प अधिकारी दोलखाका एक ७५ बर्षे हजुरबुबा जो नातिनी बलात्कार पछि हाल सजायँ भुक्तान गर्न जेलमा बसिरहेका छन। यो घृणित घटनाले बलात्कार हुने कारण खोतल्न झक्झकायो र यसबारे दर्जनौ खोजमुलक अनुसन्धान, किताब र आलेख पढियो। अध्ययन मार्फत केर्हि निश्कर्ष निस्कियो र यो लेख तयार भयो। यस लेखलाई पाँच भागमा छुट्याएको छ। पहिलो, के पहिरनले बलात्कार बढाउँछ? जस्लाई समाजले मुख्य कारण नै जस्तो मान्दै आएको छ। दोस्रो, के सबै पुरुष सम्भावित बलात्कारी हुन? यसमा बलत्कार हुनुको पछाडिको पुरुष मनोबिज्ञान र नेपालका केहि उदाहरणको चर्चा छ। तेस्रो, के पुरुष भन्दा महिला शारीरिक रुपमा बलिया भएको खण्डमा बलात्कार हुन्थ्यो? यसमा बल र यसको अपराधसँगको चर्चा छ। चौथो के जनावरले पनि बलात्कार गर्छन? यसमा मान्छे विवेकशिल भएर किन बलात्कार गर्छ भन्ने चर्चा छ। र पाचौं, के बलात्कार र अनिच्छित यौन सम्पर्क एउटै हो? यसमा हिजो आजको मिटु अभियान देखि महराको बलात्कार काण्डको चर्चा गरिएको छ। 

के पहिरनले बलात्कार बढाउँछ?

विपरित लिङगीलाई आकर्षण गर्न हरेक प्रजातिमा कुनै न कुनै विशेष गुण रहेको हुन्छ। मनुस्य जातिमा प्राकृतिक सौन्दर्यको अलवा शारीरिक शोभा बढाउन अनेक प्रकारका श्रृङ्गार र पहिरन थप्ने गरेको पाईन्छ। उनिहरुले यसलाई ब्यक्तित्व विकास, अरुलाई आकर्षित पार्न र छालाको हेरचाहाको रुपमा लिने गरेका छन। तर विपरित लिङ्गको आकर्षणका सन्दर्भमा महिलाको कामुक पहिरन, भड्किलो श्रृङ्गार, कामुक हाउबाहु र सुन्दर रुपले पुरुषलाई आकर्षित गर्छ भन्ने तर्क गरेको पाईन्छ। यदि यसो हो भने पुरुषको कामवासनालाई उद्दीप्त पार्ने, रतिराग जगाउने, सहवासका इच्छाको उत्तेजना बढाउने, कामातुर कार्य गर्न यि पहिरन लगाएतका कुराले उत्प्रेरको भुमिका खेल्छन भन्ने देखाँउछ। पाखुरा देखिने लुगा, स्तनका विच भाग, नितम्बका आकार,

  नाभि भाग र तिघ्रोको भागले पुरुषलाई आकर्षित गर्ने गरेको ‘युनभर्सिटी अफ साउथ व्यल्स’को एक अध्ययनले देखाएको छ। ‘महिलाहरु अरुलाई आकर्षित गर्न यस्तो अंग प्रदर्शन गर्ने गरेको’ भनिएको छ। चलचित्र, टिभी र दृष्य सामाग्रीहरुमा महिलाका श्रृङ्गार र पहिरन छनौटमा ज्यादै ध्यान दिईन्छ। यस लेख तयार पार्न गोपी, छक्क पन्जा २, लुट २ लगाएतका केहि नेपाली सिनेमामा हेरेको थियो। उक्त सिनेमाहरुमा महिलाको उक्त भागको दृश्य देखाएर पुरुषलाई आकर्षित गर्न खोजेको पाईयो। २००५ मा ‘एम्नेस्टी इन्टरनेसनल’  बेलायतले गरेको सर्वेक्षणमा उत्तरदाताहरु मध्ये एक तिहाइले “महिलाहरु पहिरन र व्यवहारका कारण हिंसाका लागि आंशिक जिम्मेवार छन्” भन्ने विश्वास गरे। “कस्तो लुगा लगाएको थियौ तिमीले?” यो प्रश्न आफन्त र प्रहरीले बलात्कार लगत्तै अनुसन्धानको क्रममा ज्यादै सोधिने प्रश्न मध्य पर्दछ। केहि महिना पहिला भारतको एक पसलमा एक महिलाले छोटो लुगा लगाएकी केटिको सामुन्ने ‘तुम्हारे साथ तो रेप होना चाहिए’ भनेपछि सर्वत्र निन्दा भएको थियो। किन छोटो वा कामुकता झल्काउने खालको पहिरनलाई बलात्कारसँग जोडेर हेरिन्छ? किन विश्व भरि पुरुषको नभई महिलाको पहिरनको मात्र आलोचना हुने गर्दछ? प्रश्न जटिल छ। सामान्य बुझाईमा पनि यस्ता पहिरन र श्रृङ्गारले पुरुषलाई आकर्षित गर्छ र त्यो आकर्षणले यौन उत्तेजना बढाउँछ र परिणाम बलात्कार सम्म पुग्न सक्छ भन्ने नै हो।

तर के यो कुरा साँचो हो त? थप हेरौं। धेरै बलात्कार स्विकार गरेका अपराधिले आफुले बलात्कार गर्दा पिडितले कस्तो लुगा लगाएको भन्ने कुरा नहेरेको र थाहा पनि नभएको बताँउछन। आझै भन्ने हो भने हेर्दा सोझा देखिने, लुगा पनि सरीर ढाकेर लगाएका, सामान्य पहिरन लगाएका महिलामा झन बढि बलात्कृत हुने जोखिम रहेको एक अनुसन्धानले देखाएको छ। हाल विश्व भरि बलात्कृत महिलाको बलात्कात हुँदाको समयमा लगाईएको लुगा प्रदर्शनिमा राखिने चलन बढ्दो छ। यि प्रदर्शनिमा राखिएको पीडितको लुगा हेर्दा साधारण पहिरन लगाएका र ति लुगा कत्तिपनि भड्किलो नभएको पाईयो। यसको सन्देश, पहिरनले बलात्कारलाई प्रोत्साहन गर्दैन भन्ने हो। बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्त पनि साधारण कुर्था सुरुवालमा भएको देख्न सकिन्छ। नेपालमा ५  देखि १० वर्षका बालिका र ७० नाघेका बृद्धा माथिका बलात्कार घटनाले पनि पहिरनले बलात्कारलाई बढवा दिन्छ वा लुगा र बलात्कारको सम्बन्ध छ भन्ने पुष्टि गर्दैन। प्राय सबै मुसलमान बाहुल्य देशमा (पाकिस्तान, अफगानिस्तान, ईन्डोनेसिया, बङ्लादेश) पनि बलात्कारका घटना बारम्बार घटेका छन यद्यपि ति देशमा प्राय महिलाको सरीर शिरदेखि पाउसम्म छोपिएको हुन्छ। धेरै अध्ययनले बलात्कार र लुगाको सम्बन्ध नकारे पनि ब्यवहार, सोच र बोलीचालीमा किन त्यसको छनक बारम्बार महसुस हुन्छ भन्ने कुरा पेचिलो छ। त्यसैले बलत्कार र पहिरनको सम्बन्ध द्वन्दात्मक तरिकाले बुझ्न जरुरि छ। र यो भन्दा अरु नै मुख्य सम्भावित कारण छन भन्ने देखिन्छ।

के सबै पुरुष सम्भावित बलात्कारी हुन सक्छन ?

भनिन्छ महिला आफ्नो कारणले कहिल्यै बलात्कृत हुँदिनन्। यो कुरा साँचो पनि हो। चाहे जस्तो कपडा वा श्रृङ्गार वा सज्जा होस, केवल बलात्कृत हुन्छिन त पुरुषको कारण। प्रशिद्ध मनोविश्लेषक सिगमण्ड फ्राईडको विश्वविख्यात चित्र छ ‘ह्वाट्स अन म्यान्स माईन्ड’ यानेकी  “पुरुषको दिमागमा के छ”? उक्त चित्रमा एक नग्न महिलाको शरीरबाट पुरुषको अनुहार र दिमाग बनेको देखाईएको छ। फ्राईडको चित्रको तात्पर्य त्यहि हो कि पुरुष हरपल ‘सेक्स’ चाहन्छ। नेपालमा बलात्कारका घटना अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेको पाइएको छ। ५५ % बलात्कारका घटना पीडितको आफ्नै घरमा वा घर नजिक हुने गरेको छ र १२ % बलात्कार साथीको वा आफन्त नातेदारको घरमा हुने गरेको तथ्याङ्क छ। नेपालमा केहि हद पार गरेका उदाहरणहरु हुन् यस्ता छन। आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा फिदिम पाचथर च्याङथापुका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ – (अन्नपुर्ण पोष्ट ३१ जेठ, २०७४)। गुल्मीको मालिका गाँउपालिकाका ७० वर्षे वृद्धले आफ्नै १३ वर्षीया नातिनाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरीले पक्राउ गरेको जनाएको छ- (न्युज २४ फालगुण २७, २०७४)। हाल सुरक्षाको जिम्मा पाएका केहि प्रहरी अधिकृत पनि बलत्कारमा संलग्न भएको आरोपमा सजाय भोगिरहेका छन।

किन आफन्तबाट पनि यस्तो घृणित कार्य हुन्छ भन्ने कुरामा मनुष्यको यौनको चाहानाको जागृतिलाई बुझौ। हाम्रो पाँचैवटा ज्ञानेन्द्रियले बस्तुको आकार वा रूप अनुसारको बेदना (‘सेन्सेसन’ वा ‘फिलिङस’) पैदा गराउँछ। जब केहि देखिन्छ, छोईन्छ, सुनिन्छ र सोचिन्छ तब पहिले दिमागमा प्रतिकृया उत्पन्न हुन्छ। फ्राईडको चित्रमा जस्तै पुरुष हरपल यौनका कुरा कल्पना गरिरहन्छ। यसबेला ‘टेस्टेस्टोरोन’ नामको हर्मोन निस्कन्छ। यो हर्मोनले सारीरिक र मानसिक रुपमा सरीरलाई यौन सम्पर्क गराउन उत्तेजित पार्छ। यसको निष्कर्ष हो पुरूष यौनको भोको हुन्छ र यो ईच्छा वा तृष्णा मेटाउन यसले अनेक उपाय अपनाउँछ। यौन ईच्छा पुरा गर्न उसले सहज र निकट ब्यक्ति रोज्ने गर्दछ जसमा जोखिम कम हुन्छ। र उसलाई यो घटना दबाउन सक्छु वा नियन्त्रण गर्न सक्छु भन्ने लाग्दछ। त्यसैले पुरुषहरुले चिनेजानेका प्रति नै आँखा गाडिरहेका हुन्छन।

बिकास र सभ्याताको उचाईमा पुगेका भनिएको युरोप, अमेरिकादेखि भारत नेपाल लगाएतका गरिब मुलकमा पनि बलात्कार घटेको छैन। आधुनिक विश्व समाज सभ्यता तर्फ जादै गर्दा यस्ता अपराध घट्नु पर्नेमा झन बढेको देखिन्छ। शिक्षा, सचेतना र दण्ड दुवैले मात्र बलात्कार नियन्त्रण गर्न सकिने भन्ने आम मानिसको बुझाई पाईन्छ। तर बलात्कार यौन चाहनासँग सम्बन्धित छ। विश्वमा पुरुषको यौन आकाङ्क्षा मेटाउन अनेक उपाय रचिएका छन। थाईल्याण्डको ब्याङकक, भारतको बम्बई, अघोषित रुपमै नेपालमा ठमेल र वसपार्क लगाएतका ‘रेड लाईट’ ठाँउहरु यिनै पूरुषका तृष्णा मेटाउन खोलिएका अखडाहरु प्रयोग हुँदै आएका छन। यो पूरुषकै निम्ति बनाईएको हो भन्नेमा दुई मत छैन। यौन चाहना मेटाउने बहानामा के सबै पुरुष सम्भावित बलात्कारी हुन सक्छन त? यो कुरा धेरै विवादित छ तर पनि बलात्कारीको कुनै पनि हुलिया हुदैन जसरी अपराधिको पनि हुँदैन। त्यसैले यस्तै पुरुष बलत्कारी हुन्छ भन्ने यकिन नहुनाले जोकोही पुरुषसगँ पनि ब्यक्तिगत ब्यवहार हेरेर संगत गर्नु पर्दछ। चाहे बुबा हुन वा प्राध्यापका, शिक्षक हुन वा साथी, सहकर्मी हुन वा आफन्त। महिलाहरु आफु सुरक्षित रहन हरेक पूरुषलाई केहि हदसम्मको संशय राखेर आफ्नो ब्यवहार अगाडि बढाउनु पर्दछ।

के पुरुष भन्दा महिला शारीरिक रुपमा बलिया भएको खण्डमा बलात्कार हुन्थ्यो ?

तुलनात्मक हिसावले प्राकृतिक रुपमा पुरुषहरु महिला भन्दा ठूला र बलिया हुन्छन। त्यसैले पुरुषले चाहेमा महिला माथी बल प्रयोग गर्ने क्षमता राख्दछन। प्राकृतिक नियम नै हो कि ठूलोले सानोलाई हेप्ने, बलियोले निर्धोलाई दबाउने। जो शक्तिशाली छ उसले दबाउँछ। तर मानिस चेतनशिल र सामाजिक प्राणी भएकाले दबाउने प्रकृयालाई अपराध मानिन्छ। तर कहिलेकाँहि पुरुषको जैविक अधिकार र सामाजिक अधिकार मध्य कुन पहिले भन्ने द्वन्दको स्थिती पैदा हुन्छ र सामाजिक सिमा नाघेर पुरुषहरु अपराधका लागि तयार हुन्छन। अपराध शक्तिसँग भर पर्दछ। सम्पति लुट्नु, हत्या गर्नु जस्तै बलत्कार पनि एक अपराध हो। त्यसैले बलात्कार हुने वा नहुने भन्ने सम्पुर्ण रुपमा पीडित र पीडकको शक्तिसँग निर्भर गर्दछ। यदि तपाई एक्लो हुनुहुन्छ भने तपाई बलात्कृत हुने जोखिम बढ्दछ र समुहमा हुनुहुन्छ भने जोखिम नगन्य हुन्छ। यदि तपाईको वरिपरि तपाईको लागि प्रतिरक्षा गरिदिने कोहि भेट्नु भएन भने तपाई यौन हिंसाको सिकार हुने जोखिम बढ्दछ। बलात्कृत हुने वा नहुने कुरा महिलाको रुप र पहिरनसँग नभई यो शक्तिसँग सम्बन्धित छ। पटक पटक बलात्कारको घटनामा संलग्न अपराधिलाई पीडित कसरी छनौट गर्दछन भन्ने प्रश्न सोधियो र उत्तरमा उसले सजिलै आक्रमण गर्न सक्ने केटि छान्ने वा रोज्ने गरेको बतायो। यसबाट के अनुमान गर्न सकिन्छ भने महिला बलियो भएमा बलात्कारको जोखिम ज्यादै न्युन हुनसक्छ। सामुहिक बलात्कार (‘ग्याँङ्ग रेप’) वा एकान्तमा वा घर भित्र हुने बलात्कार बलसगँ सम्बन्धित छ। हिजोआज यहि कुरालाई मध्यनजर गरेर अमेरिकाको फ्लोरिडा होस वा नेपालको धनगडिमा पुरुष आक्रमणको विरुद्धको प्रतिरक्षा तालिम महिलालाई दिदै आईएको छ।

‘द डार्क साईड अफ म्यान’ का लेखक घिग्लिरे भन्छन अधिकांस बलात्कारी आर्थिक सामाजिक हैसियत कमजोर भएकाहरु हुन्छन। उनि के तर्क पनि गर्छन भने पुरुषहरु महिलालाई आकर्षण गर्न, सम्पत्ति र स्रोत कमाउन सक्दैनन् र त्यस्ता मानिस अन्तह: यौन चाहना मेट्न बलात्कार तिर लाग्छन। अपराध शक्ति हुनेले कम्जोर माथी गर्ने हुँदा महिलाले आफ्नो सक्ति बढाउन जरुरी हुन्छ। यहाँ यौन हिंसाबाट शतप्रतिशत सुरक्षित कुनै पनि महिला छैनन। त्यसैले आफ्नो बानी, ब्यवहार, दैनिकी, रहनसहन, ब्यक्तित्व परिवर्तन गरेर आफुलाई मजबुत बनाउन लाग्नु पर्छ। यसको कारण तपाई अपराधिलाई बलियो प्रतिद्वन्दिको रुपमा प्रस्तुत भईराख्नुस। यसका कारण उसले आक्रमण गर्न नसक्ने होस। हरेक शङ्कास्पद कुराको तुरुन्त र डटेर प्रतिवाद गर्नुहोस। के म कम्जोर, डर र निराश त भएको छैन? के म राति वा साँझमा एक्लै त छैन? के मेरो बसाई खराब त छैन? के मेरो सारीरिक प्रस्तुती भिन्न त छैन? जस्ता बलात्कारीलाई उत्प्रेरित गर्ने कुराबाट सधैं सतर्क रहनुहोस यसकारण तपाई यौन हिंसाको र बलात्कारको जोखिमबाट केहि हदसम्म बच्नुहोस। दौडनु वा भाग्न सक्ने बन्नु वा प्रतिकार र मुकाविला क्षमता बढाउनु जोखिम कम गर्ने उपाय हुनसक्ने सुझावहरु हुन।

के जनावरले पनि बलात्कार गर्छन?

जनावरले बलत्कार गर्दैनन। उनिहरु सन्तानको निरन्तरताको लागि मात्र यौन सम्पर्क गर्दछन। तर मनुश्यले मनोरन्जर र सन्तान उत्पादन दुवै उद्देश्यको लागि यौन सम्पर्क गर्दछन। मनोरन्जनको दुरुपयोग स्वरुप मानिस बलात्कार गर्न पुग्छ। मानिस बाहेका अरु स्तनधारी प्राणीमा रजस्वला चक्रको समयमा मात्र यौन जागृत हुन्छ र त्यसैवेला सम्पर्क हुन्छ। तर मानिसमा हरेक क्षण यौन भावना जागृत हुन सक्दछ। जैविक हिसावले हरेक भाले/पुरुष जातीले के गर्ने भन्ने ‘हर्मोनमा’ अन्तर्निहित हुन्छ। जस्तै, मैथुन उस्को नैसर्गिक प्रकृतिस्थ अधिकार हो र यस जैविक आकाङ्क्षालाई रोक्न सकिन्न। जसरि आहार, भोक, निद्रा, उसको जैविक आवस्यकता हो। तर मानिस चेतनशील र सामाजिक प्राणी भएकाले अरु जनावर भन्दा भिन्न छ र हुनुपर्ने हो। तर यसको विपरीत पुरुषले बल प्रयोग गरेर यौन सम्पर्कको बहानामा बलात्कार गर्ने गर्दै आएको पाईन्छ। बलात्कार मानिसको विकासको चरण घुमन्ते र सिकारी युगमा हुने भनिएको भएपनि आजको मानिस चेतनशील र पढेलेखेको भईकन पनि बलात्कार जस्तो कार्य जारी छ। यसलाई जैविक पक्षबाट बुझन पनि जरुरी छ। आजको आधुनिक युगमा ब्यक्तिका केहि ईच्छा वा चाहना वा के गर्ने पाउने वा नपाउने प्रकृतिले हैन समाजले तोकिदिन्छ। उदाहरणको लागि बच्चाले जुनकुनै पनि भाषा छान्न र सिक्न सक्षम हुन्छ तर समाज र वाबुआमाले कुन भाषा सिक्ने छानिदिन्छ। विवहाको उमेर तोकिदिन्छन। जबकि यौनसम्पर्कको लागि उ अगाडि नै तयार भएको हुनसक्छ। सबै पूरुष उहि समाजमा हुर्केका र एकै प्रकारका जैबिक गुण लिएर जन्मेका भएपनि कोहि भने बलात्कार गर्न पुग्छन। जव त्यस पूरुषले उसको यौन अधिकार समाजले कुन्ठित गर्ने अवस्था सृजना भएको ठान्दछ र उ समाजका नियमको उल्लङगन गर्न लाग्दछ। भनिन्छ पुरुषलाई ‘सेक्स’ भनेको खानाको भोक जस्तो हो। त्यसैले भोको मानिस भौतारिन्छ र जे पनि गर्छ। यदि कसैले बलात्कार गर्न खोज्नु भनेको उसमा यौन सम्पर्क गर्ने चाहना तिब्र छ भन्ने हो। अध्ययनका अनुसार आफ्नो केटी साथी खोज्न नसक्ने, बिहे गर्न आँट नभएका, अपराधिक पृष्टभुमि भएका, श्रीमती भन्दा टाढा भएका पुरुषहरुले बलात्कार गर्न गरेको पाईएको छ। पशु भन्दा पनि मानिस निकृष्ट हुनु भनेको कि नैतिक ज्ञान र सामाजिक ज्ञानको अभाव छ या त दण्डको भय छैन भन्ने बुझ्नु पर्दछ। 

के बलात्कार र अनिच्छित यौन सम्पर्क एउटै हो ?

यौन हिंसा वा आक्रमण, यौन उत्पीडन, यौन दुरुपयोग र बलात्कार चार फरक फरक विषय हुन। यौन हिंसा वा आक्रमणका गतिविधि भित्र चुम्मन गर्न खोज्नु, सरीरका अंग छुनु, अँचेट्नु, टाँसिनु र सरीर सुम्सुम्याउने जस्ता कृयाकलाप पर्दछन। यौन उत्पीडनमा -देखिने गरेर वा स्पस्ट रुपमा यौनका कुरालाई लिएर सताउने, बोल्ने, हैरानी दिने, कर गर्ने पर्दछन। उदाहरणका लागि रुपको, सरीरको नचाँईदो तारिफ गर्ने, लाक्षणिक सृङ्गारिक शब्द प्रयोग गरेर जिस्काउने, सरीरमा फरक तरिकाले हेर्ने, मौखिक दवाव दिने आदि पर्छन। यौन दुरुपयोगमा भने बच्चा तथा बालबालिका वा बुढाबुढीसगँ सम्वन्धित छ, वयस्क सँग होईन।

यसका साथसाथै बलात्कार र इच्छा बिपरित गरिएको यौन सम्पर्कमा केहि भिन्नताहरु छन। बलजफती लिंग घुसाउने र यस क्रममा हुने सारीरिक क्षति कोपार्ने, चिथोर्ने, घाउ हुने, कराउने, दुख्ने बलात्कार भित्र पर्दछ। बलात्कारमा सारीरिक र मानसिक क्षति उत्तिकै हुन्छ। ईच्छा बिनाको सम्पर्कमा मानसिक क्षति बढि हुन्छ भने सारीरिक क्षति कम हुन्छ। कुनै दिन श्रीमान कामवासनाले युक्त भएको बेला श्रीमतीको टाउको दुखेको वा ज्वरो आएको हुन सक्छ। यस्तो अवस्थामा गरिएको यौन सम्पर्क बलात्कार भन्दा पनि अनिच्छित यौन सम्पर्क हुन जान्छ। त्यस्तै कुनै महिलाले जबरजस्ती यौन सम्पर्क गर्न पुरुषलाई आग्रह गरिन भने यस्लाई अनिच्छित यौन सम्पर्क भन्ने गरिन्छ। अनिच्छित यौन सम्पर्क कार्यालयको सहकर्मी, बैवाहिक वा अविवाहित जोडी, साथी र आफन्तजनबाट बढि हुने गर्दछ। तर बलात्कारको परिभाषा भने “ईच्छा विपरितको यौन सम्पर्क”लाई बलाकात्कार भन्ने गरिन्छ। अनिच्छित यौन सम्पर्कमा डर धम्कि देखाएर, फकाईफुलाई गरेर, परिवन्धमा पारेर बलात्कार गर्ने गरेको पाईएको छ। महिलाले हुन्न भनिन भने पुरुषले हुन्छ भन्ने बुझ्नु पर्छ भन्ने धारणा पनि छ। यौन सम्पर्क अगाडि यदि महिलाले प्रतिकार गरिनन् भने त्यो बलात्कार हुदैन भन्ने जस्ता गलत अवधारण पनि चलिआएका छन। ईष्टमित्र साथीभाई वा परिवारका सदस्यले गर्ने लगातारको बलात्कार यसको उदाहरण हो। बलात्कृत महिलाले भौतिक प्रतिकार नगर्ने वा गर्न नसक्ने साथसाथै यौन सम्पर्कको ईच्छा पनि नहुने अवस्था श्रृजना गर्नु यौन शोषणको चरम रुप हो।

हाल विश्व भरिनै लैङ्गिक तथा यौन हिंसा खपेर वा सहेर बसिरहेका महिलाहरुले उक्त हिंसा बारेको मौनता तोडिरहेका छन। सामाजिक सन्जालमा ‘मि टु’ ‘ह्यास ट्याग’ प्रयोग गरेर आफुले भोगेको कटु अनुभव अरुलाई बाँडिरहेका छन। यस किसिमको हिंसा पहिले नै चिनेजानेको ब्यक्ति वा सहकर्मीबाट हुने गरेको देखिएको छ। यस अभियानले पीडित महिलामा म मात्र एक्लो पीडित होईन रहेछु भनेर आत्मबल बढाएको छ। यस अभियानलाई विश्व भरिका महिलाले ऐक्यबधता र समर्थन जनाईरहेका छन। नेपालको चर्चित र विवादास्पद भएको महरा-रोशनि काण्ड पनि अनिच्छित यौन सम्पर्कको एक उदाहरण हो। हाल सालै नेपालको सर्वोच्च अदालतले कार्यलयमा दुई जनाबिच सहमतिमा भएको यौन सम्पर्क पनि यौन शोषणको रुपमा हेरिनु पर्ने फैसला गरेको छ। यसको आशय के बुझिन्छ भने पद, सत्ता, आर्थिक र सामाजिक प्रभावमा परेर सहमतिमा गरिएको सम्पर्क पनि यौन शोषणको रुपमा बुझ्नु पर्ने फैसला गरेको छ। तर महिलाले पनि आफु पद र पैसा वा लोभमा परेर यस्ता कृयामा सङलग्न रहने पछि सौदाबाजीको रुपमा उपयोग गर्दछन भन्ने आरोप पुरुषहरुले लगाउने गरेका छन। यसमा कति सत्यता छ अनुसन्धानको विषय भएपनि घटना घट्नुमा पीडित पनि आंसिक दोषि हुन्छ भन्ने कुरा अध्ययानले देखाउँछ। तथ्याङका अनुसार ६० प्रतिषतले महिला आफु बलात्कृत भएको स्विकार नै गर्दैनन। भनिन्छ हाम्रो समाजमा बलात्कार अत्याधिक हुन्छ। अध्ययानका अनुसार १०० जना बलात्कृत मध्य जम्माजम्मी २० जनाले मात्र उजुर गर्दछन। यौन हिंसाको मात्रा कति ठूलो छ भन्ने कुरा यसै तथ्याङकबाट आकलन गर्न सकिन्छ। यसका लागि महिलाले खुलेर विरोध जनाउने र त्यसलाई सन्चार माध्यम, सामाजिक सन्जाल, प्रहरी र सरकारले सहयोग गर्दै न्युनिकरण गर्न पहल गर्नुपर्दछ।

 

No comments:

Post a Comment