Writer-विकल्प अधिकारी “हाम्रो देशमा खुट्टामा लगाउने जुत्ता ए.सी.युक्त सफा पसलमा
पाइन्छन् । दैनिक प्रयोग गर्ने तरकारी फुटपाथमा बेचिन्छ” । सामाजिक संजालहरुमा
देखिरहने प्रतिक्रिया हो यो । र, वास्तविकता छ पनि यस्तै । साँच्चै हामी
सर्वसाधारणले प्रयोग गर्दै आएका फलफुल पसल, होटल, लज, मासुपसल भन्दा लुगा र जुत्ता किन्ने दोकान, सिभिल मल, गाडी सोरुमहरु
सफा र ए.सी. जडित हुन्छन् । त्यस्ता पसलहरुमा नियमित पुछपाछ र सरसफाई गरिन्छ । सधै
आकर्षक र सफा राखिन्छ । हेर्दै पनि वजारमा घडी, मोवाइल, कम्प्यूटर पसल सधै सफा देखिन्छन् । बेकरी र चिया
पसलहरुमा सामान्य सरसफाई गरिन्छन् । खाध्य पदार्थ जस्तै दाल चामल पाइने, खानेकुरा बेच्ने
पसलहरु सधै नमिलाईएका, कोचकाच पारिएका, धुलो मैलो भएका हुन्छन् । वैँकहरु, ठूला व्यापारिक
घरहरु, एनजिओका अफिस चिटिक्क हुन्छन् । तर सबैले प्रयोग गर्ने
सार्वजनिक सडकबाटाहरु, यात्रा गर्ने बस अनि तिनका सिटहरु, बसपार्क र बिसौनीहरु सबैको सरसफाइ बैकहरुको
तुलनामा निकै धुलाम्मे र सधै फोहरमैलाले भरिएका हुन्छन् । एक आधा घण्टा सहर धुम्दा
मान्छे कोदो रापेर फर्कदै गरेकी आइमाई जस्ती धुलामय देखिन्छन । सरकारी कार्यालय र
सरकारी क्याम्पसका शौचालय, वजारका तरकारी पसलहरु, हस्पिटलहरु, नदी किनाराहरु, सडकछेउका बाटाहरु हिंडडुल गर्नै नसकिने खालका
छन् । उपयोगिताका आधारमा हेर्ने हो भने हाम्रा शहरका घर, कार्यालय जति उपयोगी र अनिवार्य हुन्छन्, त्यत्तिकै फोहोर
पनि ।
हामीकँहा काम
गर्ने नगरपालिका र फोहर उठाउने संयन्त्र नभएका पनि होइनन् । नियमित सहर सफा राख्न
बढारकँुढार गर्ने कर्मचारी पनि छन । सहरमा सभ्य र पढेलेखेका मानिसहरु बस्दछन् ।
उनीहरुमा ज्ञानको पनि अभाव छैन । राम्रा नियम कानून हाल बनाइएका पनि छन् । नियम
कार्यान्वयन गराउने निकाय पनि छ । अनि सबैले काम गरेको देखिन्छ तर पनि समस्या
उत्तिकै रुपमा टड्कारा छन् । भनिन्छ सफा र स्वच्छ वातावरणमा बाँच्न पाउनु नागरिकको
नैसर्गिक अधिकार हो । आफ्ना नागरिकलाई सफा र प्रदुषण रहित वातावरणमा राख्नु
सरकारको पनि दायित्व हो । सरकारले वातावरण स्वच्छ र सफा बनाउन लागानी कम गर्छ, विज्ञहरु
बताउँछन् । वातावरण सुधार्नु भनेको ग्रैहनाफामूलक काम हो, भन्ने सरकार ठान्दछ । काठमाण्डौको वायुमण्डल सफा
भएर सरकारलाई प्रत्यक्ष केहि फाइदा हुदैन । त्यसैले सरकारले यस्ता प्रत्यक्ष नाफा
नहुने काममा लगानी गर्दैन । तर नदीनाला, सार्वजानिक चोकहरु, सडकहरु, सरकारी कार्यालय, पार्कहरु सफा हनु राष्ट्रको सभ्यताको परिचय हो ।
देशको गौरव हो । राज्यमा स्वस्थ नागरिक हुनु राज्यको सम्पति भित्र पर्दछ । सफा
स्वच्छ वातावरण, देशको सभ्यता, पर्यटन व्यवसाय, जनस्वास्थसँग पनि जोडिएको हुन्छ । दैनिक धुलोको
कारण एलर्जी हुनु, स्वास प्रश्वासका कारण अस्पतलमा भर्ना हुनु, फोहरका कारण
महामारी फैलनु, झिँगा लाम्खुट्टेको कारण सरुवा रोग लाग्नु भनेको राज्यको
स्वास्थ क्षेत्रमा लगानी बढ्नु हो । तर सरकारले सफा, स्वच्छ र शान्त वातावरणमा आफ्ना नागरिक रहुन
भन्ने तर्फ गर्ने गरेका कार्यक्रमहरु प्रभावकारी भएको अनुभव गर्न पाइएको छैन ।
अझ राजधानीमा
फोहोरको जटिलता थप भयानक छ । काठमांडौ शहर राजधानी भएर पनि फोहोरको नालीमा डुबेको
छ । सडक बजारमा नाक थुन्दै हिड्ने जमात काठमाण्डौका लागि नौलो रहेन । राजधानी
लगायतका शहरी क्षेत्रमा देखिएका यस्ता समस्याले अन्तराष्ट्रिय क्षेत्रमा समेत
नेपाली शहरहरुको छवी बिग्रर्ने गरेको छ । त्यसैले हाल सरकारले ‘सफा र सुन्दर नेपाल
नै नेपालीको पहिचान’ भन्ने मुल नाराका साथ यही चैतको अन्तिम सातादेखि काठमाण्डौमा
सरसफाई अभियान सुरु गरिन लागेको जनाएको छ ।
चैतको अन्तिम
हप्ताबाट सुरुहुने सरसफाई अभियान वैशाखको पहिलो हप्तामा काठमाण्डौलाई ‘सफा
काठमाण्डौ’ घोषणा गर्ने योजना सहित तयारी चलिरहेको छ । यो अभियानमा ठूलो सङ्ख्यामा
स्वयंसेवकको परिचालन गर्ने तयारी भइरहेको पनि सुनिएको छ । यत्रो ठूलो र अव्यवस्थित
संरचना भएको काठमाण्डौ सहरको फोहोर व्यवस्थापन गर्नु चानेचुने काम भने हुने छैन तर
सरकार र जनता मिल्ने हो भने व्यवस्थापन सहजै गर्न सकिन्छ । हाम्रो जस्तै अवस्था
भएका केही दक्षिण एसीयाली सहरहरुमा यस्ता अभियानहरु सफल भएका पनि छन । भुटानको
थिम्पु र वङलादेशको ढाकामा फोहर व्यवस्थानमा हाल निक्कै सुधार भएको देख्न सुन्न
पाइन्छ । त्यसैले यदी यो अभियान लक्ष्य अनुसार सफल भएमा सरसफाइको क्षेत्रमा
कोषेढुंङा सावित हुन सक्छ ।
सहरका
ठाँउठाउँका तरकारी पसल, मासु बेच्ने र काट्ने पसल, बदशाला, गाडी मर्मत
गर्ने वर्कसपहरु, खाजा, खाना पाइने क्यान्टिनहरु निजी भएर पनि सफासुग्धर
कम गरिन्छ । सर्वसाधारणहरु अाँफै पनि लापरवाही तरिकाले आफ्नो जीवनशैली गुजारा
गरिरहेको भान हुन्छ । कति फोहोरका समस्याहरु आफै पनि समाधान गर्न सकिने र सरल
हुन्छन् । व्यापारीले पसल सफा नराख्नु, घर अगाडीको फोहर हटाउन घरवालाले पहल नगर्नु, व्यक्तिले
तोकिएको स्थानमा फोहर नफाल्नु हेलचेक्राँई हो ।
फोहर प्रति बेवास्ता गर्नु हो । त्यसैले त फोहोर भएकै ठाउँमा किन्न, खान, हिडडूल गर्न
अभ्यस्त हुन्छन मान्छे । धुलै धुलै भएका सडकहरु, सवारी साधनहरु, दैनिक सडक छेउ थुपारीने फोहरका थुप्रोले राज्यका
सेवा दिने निकायले आफ्नो दायित्व पुरा नगरेको संकेत गर्दछ । उसो त सहरवासी पनि
आफ्नो कर्तव्यबाट चुकेका छन् । उदाहरणका लागि एक दिन पनि सहरमा फोहर नउठाइँदा
सहवासीलाई फोहर सडकमै फाल्न हतार हुन्छ, वातावरणकर्मी व्यङग्य गर्छन् र भन्छन्, ‘सहरवासी आफुले
उत्पादन गरेको फोहर सवैको लागि देखाउन चाहन्छन र सडकमै फालिदिन्छन’ । घरको फोहर
घरमै तह लगाउने धेरै उपायहरु छन् तर एकदिन पनि आफ्नै घरमा राख्न वा तह लगाउन
हामीलाई बानी परेको छैन । सहर सफा राख्न सबैभन्दा बढि जिम्मेवार स्थानीय समुदाय
हुन्छन् । राजधानीका कुनाकाप्चा, पर्खाल र खुल्ला ठाउँमा लधुसङख नियमीत देख्न
पाइन्छ । यसले हामी असभ्य भएको देखाउँछ । उसो त पर्याप्त सार्वजनिक शौचालय नहुनाले
मानिसहरु वाध्य पनि छन् । हालसालै ‘एनजिओ फोरम’ले गरेको अनुसन्धानमा उपत्यकका
सार्वजनिक शौचालयहरुको अवस्था अत्यन्तै नाजुक भएको देखाएको छ । शौचालयमा पानी, सावुन र वत्ती
नहुन । शौचालयका ढोका चुकुल नहुन, शौचालय भित्र पस्नै नसकीने गरि दुर्गन्धित र
फोहर जस्ता समस्याले राजधानीको कमजोर अवस्थाको अवस्थाको चित्रण गरेको छ ।
शौचालय वा अन्य
सार्वजनिक ठाँउमा नैतिक रुपमा गर्नु पर्ने कतिपय दायित्व पुरा नगरीएका कारण फोहरी
सहरको उपमा दिइन्छ काठमाण्डौलाई । तर कति स्थानीय तहमा गरिएका ससाना सरसफाई
अभियानले सहरबासीमा सकरात्मक प्रभाव पारेको छ । यसले के संकेत गर्छ भने कुनै पनि
राम्रो कामका लागि सुरु गर्ने र नेतृत्व गर्नेको मात्र आवस्यकता हुन्छ । हाल
नेपालका पोखरा, ईलाम जस्ता ठाउँमा कालो प्लाष्टिक प्रयोगमा प्रतिवन्ध सफल र
प्रेरणादायी छ । कुहिने र नकुहिने फोहरको वर्गीकरण गरि ललितपुरका केहि टोलमा
गरिएको फोहोरको व्यवस्थापन साच्चै अनुसरणीय छ । वास्तवमै सर्वसाधरण जनता आफ्नो टोल, नगर र सहर सफा
राख्न चाहन्छन् । मानिसहरुलाई फोहर कसरी फाल्ने कहाँ फाल्ने ज्ञानको पनि अभाव छैन
मात्र वानी पार्नु परेको छ । शहरवासीको आनिवानी देखि, फोहर व्यवस्थापनका तौर तरिका, अनुशासन र नियत
जम्मै कुरा सिकाइनु पर्ने भएको छ । हाल अत्यन्तै सफल ‘मापसे’ र ट्राफीक नियम
फाहोरको व्यवस्थापनमा पनि प्रेरक हुन सक्छ । त्यसकालागि सरोकारवाला निकायले थोरै
मात्र मिहिनेत गर्नुृपर्छ । सरकारले गर्न लागेका ठूलो सङ्ख्याको स्वयंसेवक परिचालन
अभियान यसको सुरुवात हुन सक्छ । किनकी यो हाम्रै लागि त हो । त्यसैले त सकरात्मक
कामको लागि सबैको साथको आवश्यकता छ । आउनुहोस सफा सहरतर्पmको रुपान्तरणको लागि पहल गरौं ।
No comments:
Post a Comment