गोत्र परमपरा र छोरा मात्र
बंसज हुने महिला नहुने कारण के हो ?
लेखक:- पुष्पराज
पुरुष
१८ कार्तिक २०७७ ०७:४३:०० Annapurna post
केही
समयदेखि गोत्रलाई थर मानेर हिँडे विभेद नहुने तर्क पनि सुन्नमा आएको छ। यो स्थायी
समाधान होइन। किनकि प्रकृतिले मानिस तीन थरी जन्माउँछ– स्त्री लिंग, पुलिंग र उभयलिंग
(नपुंसक)। यी तीनथरी मान्छेमा गोत्र चल्ने पुरुषको मात्र हो। यसरी एकथरीको मात्र
गोत्र चल्ने भएकाले अर्का दुईथरीलाई समानताका आधारमा सम्मान दिन सकिँदैन।
किन मिल्दैन त स्त्री र उभयलाई गोत्रको मान्यता दिन ?
सनातन
मान्यताअनुसार पुरुष वीज हो भने स्त्री प्रकृति। स्त्री प्रकृति भएकाले वीजलाई
ग्रहण गरेर नयाँ मानव सृष्टि गर्न सक्छे तर वीज बनेर रहन सक्दिनन्। किनकि सन्तान
जो जन्मिए पनि बाउको वीज छोरामा मात्र हुन्छ। छोरी वा अन्यमा हुँदैन। यो प्राकृतिक
चरित्र हो। ऋषिहरूले करोडौं वर्ष अनुसन्धान गरेर पत्ता लगाएर पुरुषको गोत्र
प्रचलनमा ल्याएका थिए। अहिले त ऋषिले के भनेभन्दा पनि वैज्ञानिकहरूले के भने भन्ने
कुरा प्रधान भएको छ। त्यसैले वैज्ञानिक के भन्छन् त वंश परम्पराका बारेमा ?
मानव
जन्म प्रक्रियाको वैज्ञानिक आधार क्रोमोजोम र जिनमा आधारित रहेर यो प्रणालीको
विकास गरेको देखिन्छ। वास्तवमा गोत्र मात्र हैन, कुनै दुई थरबीच प्रवर मात्र मिलेमा पनि
विवाह निस्तेज गरिएको छ। किनकि हरेक प्रवर र गोत्र आपसमा अन्तरसम्बन्धित छन्।
तसर्थ तिनका सन्ततिबीच विवाह गर्नु एउटै कूलका कन्या र पुरुषबीचको विवाहजस्तै
हुन्छ। यही कारणले सगोत्रीभित्र वा एकै प्रवर भएका गोत्रीबीचको विवाह वर्जित
गरिएको हो। सगोत्री विवाह वर्जित गरिनुमा वैज्ञानिक कारण छन्। हजारौं वर्ष पहिले
ऋषिमुनिहरूले यस कारणलाई सही ढंगले बुझेका रहेछन् भन्ने कुरा आधुनिक गर्भ
विज्ञानले प्रमाणित गरिदिएको छ। त्यस प्रकारको वैज्ञानिक प्रमाणलाई यसरी प्रस्तुत
गरिएको छ :
क्रोमोजोम
: जीव विज्ञान तथा गर्भ विज्ञानले बताएअनुसार स्त्री गर्भमा मानव शरीरको विकास
दुइटा सेलबाट सुरु हुन्छ। एक सेलमा २३ जोडी क्रोमोजोम हुन्छन्। तीमध्ये एक सेल
आमाबाट र एक सेल बाउबाट आएका हुन्छन्। अर्थात् हाम्रो शरीरमा जम्मा ४६ वटा
क्रोमोजोम हुन्छन्। ती ४६ वटा क्रोमोजोम अर्थात् २३ जोडी क्रोमोजोममध्ये एकजोडी
क्रोमोजोमलाई लैंगिक क्रोमोजोम भनिन्छ। त्यही एक जोडी क्रोमोजोमले व्यक्तिको लिंग
निर्धारण गर्छ।
वैज्ञानिक
आधारअनुसार वाई क्रोमोजोम केवल पुरुषमा मात्र हुन्छ। सन्तान उत्पादनमा वाई
क्रोमोजोमबाट छोराको जन्म हुन्छ। अर्थात् छोरा जन्मनुमा उसको पिताको मुख्य भूमिका
हुन्छ। छोरा जन्मनुमा पिता नै निर्णायक हुन्छ। पिताको वाई क्रोमोजोमविना छोराको
जन्म असम्भव छ। छोरी जन्मनुको निमित्त पिताको एक्स क्रोमोजोम र आमाको एक्स
क्रोमोजोम मिल्नुपर्ने हुन्छ। जबकि छोरा जन्मनको निमित्त पिताको वाई क्रोमोजोम र
माताको एक्स क्रोमोजोम मिल्न आवश्यक हुन्छ।
विज्ञानले
प्रमाणित गरेअनुसार स्त्रीमा केवल एक्स क्रोमोजोम मात्र हुन्छ वाई क्रोमोजोम
हुँदैन वाई क्रोमोजोम पुरुषमा मात्र हुन्छ। तसर्थ छोराको जन्म उसको बाउको वाई
क्रोमोजोमका कारण हुन्छ र यो वाई क्रोमोजोम क्रमशः पिताबाट छोरा, नाति, पनातिमा हुँदै
एवंरीतले हुँदै अघि बढ्छ। जबकि महिलाको एक्स क्रोमोजोम र पुरुषको एक्स क्रोमोजोम
मिलेर जन्मेकी छोरी अर्कै पुरुषसँग विवाह हुँदा उसको एक्स क्रोमोजोम अन्य वंशसँग
मिक्स हुँदै जान्छ र पितातिरको एक्स क्रोमोजोमको अस्तित्व समाप्त हुँदै जान्छ।
जबकि पुरुषको वाई क्रोमोजोम कसैसँग मिक्स नभई अनवरत रूपमा अघि बढ्छ।
पुरुषको
जन्मको कारण वाई क्रोमोजोम नै हो,
जुन
उसको पिताबाट मात्र प्राप्त हुन्छ। अर्थात् पुरुषको वंश वा जिन वाई क्रोमोजोम
आफ्नो पुर्खाको मात्र हुने हुँदा नवजात पुरुषको गोत्र उसको पिताको गोत्र कायम
रहन्छ भने महिलाको गोत्र विवाहपछि उसको पतिको गोत्रमा परिणत हुन्छ। किनभने त्यस
महिलाबाट जन्मिने पुत्रको वाई क्रोमोजोम उसको अथवा मुख्य जिन वा वंश उसको पतिको
हुने हुँदा त्यो महिलाको गोत्र पनि उसको पतिको गोत्रमा विलय भएर जान्छ। अर्थात्
स्त्रीले आफ्नो जन्मको वंशको जीन बोक्दैनन् जबकि पुरुषले आफ्नो हजारौं वर्ष पुरानो
पुर्खाको वाई क्रोमोजोम बोक्दै आइरहेको हुन्छ।
पुरुषलाई
वंशको प्रतिनिधि मानिन्छ। त्यसैले गोत्र प्रणालीको विकासको मूल कारण वाई
क्रोमोजोमको पहिचान गर्दै युगौंयुगसम्म आफ्ना भाइबन्धुहरूको पहिचान कायम राख्नु
थियो। तसर्थ गोत्र प्रणाली नितान्त जीव विज्ञान र गर्भ विज्ञानमा आधारित छ।
सगोत्री विवाह निषेध गर्नुका पछाडि पनि माथि उल्लिखित कारण मुख्य हो। एउटै गोत्रका
पुरुष र महिलाबीच विवाह भएमा त्यही वंशको वाई क्रोमोजोमबाट सन्तान जन्मदा त्यो
बालक त्यो स्त्रीको पिताको वंश समान हुन जान्छ किनकि त्यस बालकको वाई क्रोमोजोम र
त्यस स्त्रीको पिताको वाई क्रोमोजोम एउटै हुन्छ। यस हिसाबले सगोत्रीसँग विवाह
भनेको एउटै गर्भका भाइ र बहिनीबीचको विवाह सम्बन्ध जस्तो हुन जान्छ। यस्तो हुन गए
गम्भीर जैविक असर उत्पन्न हुन्छ भनी जीव विज्ञानीहरूले भनेका छन्।
उनीहरूका
अनुसार एउटै गोत्रमा विवाह हुँदा केटी र केटाको जिन एउटै हुँदा त्यसबाट जन्मिने
सन्तानमा केही जैविक कमी वा शारीरिक तथा मानसिक विचलनजस्तो समस्या उत्पन्न हुन
सक्ने प्रशस्त सम्भावना रहने हुँदा पनि सगोत्री विवाह अस्वीकृत गरिएको हो। सगोत्री
विवाह हुँदा वंशको कुल बिग्रन्छ भन्ने प्रचलन पनि वैज्ञानिक वास्तविकतामा आधारित
छ। उक्त भयावह असरबाट बच्न सगोत्री विवाहको निषेध शास्त्रीय रूपमा नै गरिएको
गरुडमहापुराणअनुसार सगोत्रमा विवाह हुँदा जन्मने सन्तान चाण्डाल मानिन्छ।
जीव
विज्ञानीहरूका मतअनुसार वाई क्रोमोजोम लाखौं वर्षसम्म पनि परिवर्तन नहुने र एउटै
रूपमा रहिरहने हुँदा त्यसको सही उर्वरा शक्ति हासिल गर्न फरक वंशको एक्स क्रोमोजोम
आवश्यक हुन्छ। जसरी एउटा अन्नको बीउ लगातार एकै ठाउँमा लामो समयसम्म लगाउँदा
बिग्रिन्छ त्यस्तै वाई क्रोमोजोम पनि आफ्नै वंशको एक्स क्रोमोजोमसँग मिल्दा त्यसको
सही विकास नहुने र सन्तानमा शारीरिक तथा मानसिक विचलन उत्पन्न हुने प्रबल सम्भावना
रहने हुनाले विवाह फरक वंशसँग गर्दा मात्र एक्स र वाई क्रोमोजोमको सही ढंगले विकास
हुन पाउँछ। तसर्थ अहिले वैज्ञानिक रूपले पुष्टि भएको सगोत्री विवाह गर्न नहुने
विषय हजारौं वर्ष पहिले ऋषिमुनिहरूले थाह पाई सोहीअनुरूपको सामाजिक परम्परा
बसालेको देखिन्छ। यस हिसाबले सोच्दा हाम्रो परम्परा, धर्म, संस्कृति, रीतिरिवाज आदि
वास्तविक अर्थमा वैज्ञानिक आधारमा आधारित रही प्रचलनमा ल्याइएको देखिन्छ।
हामीले
गोत्रलाई थर बनाएर चलायौं भने नारी समुदायलाई निश्चित स्थिर थर वा परिचय दिन कठिन
हुन्छ। किनकि बुबाका घरमा भएसम्म एउटा गोत्र र बिहेपछि अर्को गोत्र गर्दा जीवनमा
परिचय नै परिवर्तन भइरहन्छ।
महिला
मुक्तिका कुरा गरेर हिँड्ने नारीले प्रकृतिको चरित्र बुझ्न जरुरी हुन्छ– जसरी
अहिले कहिले पिताको थर त कहिले पतिको थर लेखेर अल्मलिएको नारी समाजको परिचयको
स्थायी समाधान के हो ?
यसका
लागि हामीले १३–१४ वर्षदेखि नयाँ प्रयोग गरेका छौं। संसारमा मानव एकै जात हो। यो
कुरामा बहस गर्नुपर्ने छैन नै। तर वंश परम्परा फरक हो, जसलाई गोत्रले समेटेर
हिँडेको छ। अब समस्या थर हो किनकि थरको कारण कुन मान्छे कुन थरको हो भनेर उचनीच
बनाएर समाज सञ्चालित हुन बाध्य छ। हामीलाई एकातिर सनातन परम्परा निरन्तर जोगाएर
आफ्नो सनातन परम्परा र जिनको रक्षा गर्नु छ भने अर्कातिर नारी–पुरुष र विभिन्न
उत्पीडन समुदायलाई समानताका आधारमा बाँच्न पाउने हक स्थापित गर्नुपर्नेछ।
के
गर्ने त ?
गोत्र
नहेरी विवाह गर्नु हुन्न र प्रेम गर्नुअगाडि पनि गोत्र बुझेर मात्र गर्नुपर्छ
भन्ने कुरा प्रस्ट भएको छ। अब आयो थरले पैदा गरेको विभेद र नारी र पुरुषका बीचमा
सबै सामाजिक परिचय पुरुष प्रधान भयो भन्ने गुनासो। संसारमा सबै मानव एकै
प्रक्रियाबाट जन्मिन्छन्। सबैले तीनथरी सन्तान जन्माउँछन्– स्त्रीलिंग, पुलिंग र उभयलिंग।
हामीले मान्छे जन्मिदा जे जन्मिन्छ त्यो नै थर लेख्यौं भने दीर्घकालीन समस्याको
समाधान भेटिन्छ। जस्तो– छोरा जन्मे पुरुष थर र छोरी जन्मे स्त्री थर लेख्ने र
विवाह गर्दा गोत्रअनुसार गर्ने प्रचलन गरेमा विवाहपछि पनि पुरुषसँग स्त्रीले विवाह
गरेर स्त्री नै थर हुने छ। यति भएपछि लैंगिक समानताको परिचय प्राकृतिक हुनेछ। यसले
नारी र पुरुषको आफ्नो प्राकृतिक अस्तित्व बराबर समाजमा हुन जान्छ र लैंगिक समानता
हुन्छ। छोरा जन्मे पुरुष र छोरी जन्मे स्त्री लेख्न थालेपछि असमानता भयो भनेर
कसैले भन्न पनि मिल्दैन।
समाजले
बनाएका अनेकौं थरका कारणले दलित,
जनजाति, मधेसी अनेक नामकरण भएर
समाज खण्डखण्डमा विभाजित छ। हामीले मानव एक जात र थर तीनवटा स्त्री पुरुष र उभय
भनेर धार्मिक विज्ञानका कुरा बुझाउन सक्यौं भने चरित्रका आधारमा व्यवहार गर्ने
समन्वयकारी समाज बनाउन सकिन्छ। यसले समाजमा रहेका हरेक समुदायका बीचमा भाइचाराको
सम्बन्ध विकास हुनेछ। समान थर र परिचय भएका कारण कसैलाई पनि पुरानो सामाजिक
संरचनाका कारण हुने अपमानको घाउले पोल्ने छैन। सबैले चरित्र र क्षमताअनुसार कर्म
गरेर परम्पराअनुसार बाँच्न पाउनेछन्। ठूलो जात सानो जातको भ्रम हटेर जानेछ।
पुष्पराज
संगत संस्कृतिका संयोजक र धार्मिक अभियन्ता एवं साधक हुन्।

No comments:
Post a Comment